दशैँ भत्ता फिर्ता गर्ने कांग्रेस संसदीय दलको निर्णय

३ कार्तिक २०७७, सोमबार १५:१४

काठमाण्डौ , नेपाली कांग्रेसले सङ्घीय संसद्का सदस्यहरुलाई सरकारले उपलब्ध गराएको दशैँ भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाई उपलब्ध गराइएको दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

कोरोना भाइरस महामारीको कारणले उत्पन्न विषम परिस्थितिमा आम नेपाली नागरिकले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेका अवस्थामा जनप्रतिनिधिलाई दशैँ भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएको ठहर गर्दै फिर्ता गर्ने निर्णय गरेको खाँणले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।