नक्कली परिचयपत्र बनाएर बेच्ने चारजनालाई प्रहरीले सार्वजनिक गर्‍यो

२३ भाद्र २०७७, मंगलवार १६:३४

काठमाडौं, सञ्चारमाध्यम र स्वास्थ्य संस्थाको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

नक्कली परिचयपत्र बनाउने ३५ वर्षीय लक्ष्मण न्यौपाने, २३ वर्षीय श्रीराम खड्का, २९ वर्षीय रमेशकुमार रेग्मी र ३९ वर्षीय राजेन्द्रराज भण्डारीलाई प्रहरीले आज सार्वजनिक गरेको हो। न्यौपाने, नवलपरासी (पश्चिम) सुस्ता बर्दघाट–१३का, र खड्का बर्दियाकाको राजापुर नगरपालिका–१०का हुन्। त्यस्तै रेग्मी, काठमाडौं महानगरपालिका–३१ र भण्डारी टोखा नगरपालिका–४ धापसीका हुन्।

उनीहरूको साथबाट विभिन्न सञ्चार माध्यमको १० वटा परिचयपत्र, विभिन्न अस्पतालका १५ वटा परिचयपत्र बरामद भएको छ। त्यस्तै नक्कली परिचयपत्र बनाउन प्रयोग हुने कटर मेसिन, स्क्यानर, कम्प्युटरलगायत सामान पनि बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिनु भयो ।

उनीहरूलाई काठमाडौंको बागबजारमा न्यौपानेले सञ्चालन गरेको कालिका प्रिन्टिर्स स्पोर्टस प्रालिबाट पक्राउ गरिएको हो।