डा केसीको अनशन १६ औं दिनमाः स्वास्थ्य गम्भीर

१३ आश्विन २०७७, मंगलवार ०८:४४
फाइल तस्बिर

१६ दिनदेखि आमरण अनशनमा रहनु भएका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

डा केसीको उपचार समूहका संयोजक डा सुवासप्रसाद आचार्यका अनुसार डा केसीलाई छाती र मांसापेशी दुख्ने, रिँगटा लाग्ने समस्या भएको छ ।

केसीको उपचारमा संलग्न चिकित्सकको टिमले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा केसीलाई बढी थकान महसुस भइरहेको उल्लेख गरिएको छ ।

केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्र कम भएको उल्लेख गरिएको छ ।

मुटुको चालमा समेत समस्या आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँको रगतमा सेता रक्तकोषको मात्रमासमेत कमी आएको छ ।

भदौ २९ गते जुम्लाबाट अनशन सुरु गर्नु भएका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।

नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएको हो। अहिले उहाँ त्रिवि शिक्षण अस्पतालमा अनशनरत हुनुहुन्छ ।