अबको निर्वाचनबाट कांग्रेस फेरि ठूलो पार्टी बन्ने कांग्रेस नेता भण्डारीको दाबी

१३ आश्विन २०७७, मंगलवार १५:५२

तनुहँ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले अबको निर्वाचनबाट कांग्रेस फेरि ठूलो पार्टी बन्ने दाबी गर्नु भएको छ ।

कांग्रेस बन्दीपुर गाउँ समितिले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहनु भएका भण्डारीले अबको चुनावपछि कांग्रेस फेरि ठूलो पार्टी बन्ने दाबी गर्नु भएको हो । कांग्रेस कार्यकर्तामा पनि निराशा छाएको आफूले महसुस गरेको भन्दै उहाँले निराश नहुन कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।

भण्डारीले पार्टी संगठनलाई बलियो बनाएर लैजानुको विकल्प नरहेको बताउनु भयो । उहाँले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताउनु भयो ।

फरक प्रसंगमा भण्डारीले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भयो ।