समय आउँछ पर्खदैन

२४ भाद्र २०७७, बुधबार १३:०६


ऋषब ज्ञवाली,
अवसर नगुमाउ, यो सधै आउदैन र आउदा पनि बिना जानकारी आउँछ, यसलाई फुत्किन नदेउ अर्थात अगाडिबाट समातिहाल स्वेट मार्डेन। अवसर आउनासाथ सकारात्मक उपयोग गर। भन्ने कुरामा मार्डेनले जोड दिएका छन। त्यसैले हरेक परिस्थिति र हरेक समयमा अवसरका बारेमा चर्चा, परिचर्चा भइरहन्छन। कुनै पनि कालखण्डमा आउने अवसरलाइ सहि सदुपयोग गर्न सकिएन भने अगाडी बढ्न पनि गाह्रो हुन्छ। त्यसैले भनिन्छ समय आउँछ पर्खदैन।
संसदिय व्यवस्थामा आवधिक समयमा हुने निर्वाचनमा हारजित त भइरहन्छ। त्यस्तै हारजितको क्रममा काङ्ग्रेस पराजित भयो, कम्युनिस्ट जित्यो गत प्रदेश, संघीय निर्वाचन २०७४ मा। ईमान्दारी पुर्वक चुनाव प्रचार प्रसारमा लागेका कार्यकर्ताहरु आफ्नो पक्षको हारमा दुखी हुनु र जितमा रमाउनु अस्वभाविक होइन। सत्तामा बसेर खाइपाइ आएका र तिनका वरिपरि परिक्रमा गरेर फाइदा लिन पल्केका हरुलाइ बाहेक अन्य ब्यक्तिलाई केही समयपछि कुनै पार्टीको हार या जितले केही फरक पार्दैन। बरु निर्वाचन जित्ने पार्टीलाई लोकप्रियता कायम राख्न कठिन हुन्छ। पराजित पार्टीको तुलनामा।
गत निर्वाचनमा पराजित भएपछि काङ्ग्रेस संगठित हुने ठुलो अवसर थियो। भातृ संघ संगठनका पनि बिधानत अवधि समाप्त भएका थिए। त्यो समयमा सबै भातृ संघ संगठनका अधिवेशन गराएर उर्जावान नया नेतृत्व ल्याउन सकिन्थ्यो। पार्टीकै अधिवेशन पनि बिधानत फागुनमा नै गराउन सकिन्थ्यो। नेतृत्व इमानदार भएको भए कुनै रोकावट थिएन। बिगत लामो समयदेखि पार्टी पद्धति भन्दा नेतृत्वबाट बढी चल्न र चलाउन पुगियो। जुन अत्यन्तै दुस्खद विषय हो शुभेच्छुकहरुका लागि।
बर्तमान सरकारको भ्रष्ट नीति र आचरण बाट आजित जनताले काङ्ग्रेस खोजिरहेका छन। काङ्ग्रेस भने आफ्नै दुर्बुद्दिले थलिन पुगेको छ। महाधिवेशन सम्पन्न भएको ६ महिना भित्र गठन गरिसक्नुपर्ने बिभागहरु कार्यकाल सकिएपछि गठन गरिदैछ। अतिरिक्त समयमा महाधिवेशनको तयारी र नीति ( नेतृत्वको बारेमा बहस हुनुपर्नेमा नियुक्तिको जोडघटाउमा नेतृत्व रुमल्लिन पुगेको छ। गत निर्वाचन देखि नै देखिन थालेको कम्युनिस्ट सत्ताको अधिनायकवादि चरित्रलाइ प्रतिपक्षले निरीह प्रकट गरिरहेको छ। सरकारको नितिगत भ्रष्टाचारमा प्रतिपक्षी मुकदर्शक बन्न पुगेको छ। जनताले सशक्त प्रतिपक्षीको भुमिका खोजिरहेका बेला प्रतिपक्ष शुन्य प्राय हुन पुगेको छ। बिगत लामो समयदेखि कोरोना महामारीले जनता प्रताडित बन्न पुगेका छन। सरकार बाट नियन्त्रण का उपाय र जनतालाइ राहतका प्याकेज केही आउन सकेका छैनन। जनतालाई भित्र थुनेर जताततै अनियमितता हुदा प्रतिपक्ष चुइक्क समेत बोल्न नसक्नु ज्यादै निन्दनीय विषय बन्दै गएको छ। जनताको आवाज उठाउनु प्रतिपक्षी दलको कर्तव्य र दायित्व हो। तर प्रतिपक्षी दल जनताको सोछ अनुरुप आवाज उठाउन सकिरहेको छैन। निर्वाचनमा जनतामाझ जादा जनतालाइ जवाफ दिनुपर्ने विषय राख्नका निमित्त पनि प्रतिपक्षी दलले आवाज उठाउनुपर्ने हुन्छ। नेतृत्वले गरेको गल्तिको सजाय ग्रामीण स्तरमा कार्यकर्ताले भोग्नुपर्छ। यसबाट पार्टी गम्भीर हुनुपर्छ कि पर्दैन। जनताका प्रत्यक्ष सरोकारका विषयहरुमा आवाज उठाउदा जनताबाट तिरस्कृत भइदैन बरु पुरस्कृत भइन्छ।
यी सब कुराहरुको जड पार्टीको मुल नेतृत्व नै हो। पार्टी पराजित अवस्थामा छ। त्यसैमा गुट उपगुटको चरम दलदलमा फसेको छ। भातृ संगठन क्षत बिक्षत बनाइएका छन। टिके प्रथामा भातृ संगठन चलाउदा तिनिहरुको भुमिका प्रभावकारी हुदैन, छैन पनि। पार्टीको मुल नेतृत्वले अधिवेशन सम्पन्न हुनासाथ सबै बिभाग र निकायलाइ पुर्णता दिएर कार्यसम्पादनमा जान सकेको भए पार्टीका गतिविधि पनि चुस्त दुरुस्त बन्न सक्थे। पार्टीका सबै तह र तप्का संगठित भए भने तिनीहरुको भुमिका पनि प्रभावकारी हुन सक्थ्यो। स्थिर सरकारको नाममा देशमा ब्रम्हलुट मच्चिरहदा प्रतिपक्षीको गर्बिलो आवाजलाइ जनताले साथ दिन्थे र दिन्छन पनि। यो अवसर बाट काङ्ग्रेस किन चुक्दैछ ? आफू बलियो र मजबुत बन्दै सरकारी अनियमितताको सवालमा आवाज उठाउन प्रतिपक्षी दल काङ्ग्रेसलाई यो भन्दा राम्रो अवसर आउदैन। यो अवसरको सहि सदुपयोग गर्दै जनतालाइ सुशासन सुनिश्चितता गर्दै देशलाइ भ्रष्टाचारको आहालबाट मुक्त बनाउने पहल काङ्ग्रेसले तत्काल थाल्नुपर्ने देखिन्छ। अन्यथा क्रान्ति नै क्रान्तिको नेतृत्व र सफल अवतरण गराएको काङ्ग्रेस प्रती जनताको आक्रोश बढ्न थाल्छ। त्यसबाट समग्र जनता र आम काङ्ग्रेस कार्यकर्तामा घृणा उत्पन्न हुन जान्छ। समयमै काङ्ग्रेस नेतृत्वले बुझ्नु जरुरी छ। जय नेपाल।
लेखक नेपाली काङ्ग्रेस अर्घाखाँचीका युवा नेता हुन ।