काठमाडौँ महानगरले विद्युतीय प्रणालीमार्फत राजस्व उठाउने

काठमाडौँ, काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने भएको छ।

महानगरपालिकाले सोमबार एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरी असोज १ गते देखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन सुरु गर्ने बताएको छ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधिमार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशत सम्म राजस्व संकलन बढ्ने अपेक्षा गरिएको बताउनु भयो ।

कर तिर्न आउने व्यक्तिलाई सम्मान गर्न नजान्दा कर तिर्न ढिलो आउने अथवा आउदै नआउने प्रवृतिको अन्त्य हुने विश्वास समेत उहाँले गर्नु भयो ।

यो प्रणाली लागू भएपछि कर तिर्न आउनेको संख्या र राजस्वको आधार समेत बढ्ने उहाँको भनाइ छ।

असोज एक गतेदेखि सुरुमा केही वडामा परीक्षणको रुपमा सुरुवात गरिने र विस्तारै सबै वडामा लागू गरिने अर्यालले बताउनु भयो ।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने अर्यालको विश्वास छ।

यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास उहाँले गर्नु भयो । महानगरपालिकाले यस अघि नक्सा स्वीकृतिमा विद्युतीय माध्यमबाट हस्ताक्षर गर्न मिल्ने प्रणाली सार्वजनिक गरेको थियो।


प्रकाशित | २०७७ भाद्र २९ प्रकाशित १८:२२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ