जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु

२ भाद्र २०७७, मंगलवार ११:४६

प्युठान, प्युठानमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन् ।

जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहानेमा जङ्गली च्याउको तरकारी खाँदा एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको हो । वर्ष १५ का सुरेश घर्ती र वर्ष १३ का सुगम घर्तीको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

त्यस्तै ३५ वर्षीय विष्णु घर्ती, ३४ वर्षीया लीला घर्ती र १६ वर्षीय शशी घर्ती बिरामी परेका छन् । उनीहरूको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ ।

साउन ३१ गते जङ्गली च्याउ खाइसकेपछि उनीहरू बिरामी परेको र उपचार नपाएपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।