पार्टीलाई एकताबद्ध गरेर मुलुकको विकास र समृद्धि गर्ने कि पार्टी फुटाएर मुलुकलाई सङ्कटमा लाने ?

१९ असार २०७७, शुक्रबार १३:५९

डा डीआर उपाध्याय,
यतिवेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि पार्टी भित्रको द्वन्द्व यतिवेला टकरावको स्थिति आएको छ । यसले नेकपा फुट्छ कि भन्ने चिन्ता चौतर्फी रूपमा बढेर गएको छ । नेपाली जनताले सत्तारूढ दल नेकपालाई राजनीतिक स्थिरता र विकासका लागि पाँच वर्षको म्यान्डेट दिएका हुन् ।

यो पार्टी बलियो र एकताबद्द भएर अघि बढनुपर्छ । सत्तारुढ दल र तिनका नेताहरूले देश र जनताका लागि काम गरेर देखाउनुपर्छ । यो अवसरलाई खेर फालेर सत्ता स्वार्थमा लागेर विवाद सिर्जना गर्नु कुनै अर्थमा पनि देश र जनताका निम्ति राम्रो होइन । अहिले सत्तारूढ दल नेकपामा जुन किसिमको विवाद देखिएको छ, यसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै गम्भिर प्रश्न उठाएको छ ।

पार्टी भित्रको विवादले जनताको मतको अपमान हुन सक्ने अवस्था देखिएको छ । नेकपामा फुट आउनु हुँदैन । त्यस्तो अवस्था आयो भने मुलुक गम्भिर सङ्कटमा जाने निश्चित छ । मुलुकमा राजनीतिक अस्थिरता आउने छ । मुलुकमा फेरि पनि अराजकता बढेर जानेछ । त्यसैले, यति बेला नेकपाका नेताहरूले सोच्नुपर्ने बेला भएको छ ।

पार्टीलाई एकताबद्ध गरेर मुलुकको विकास र समृद्धि गर्ने कि पार्टी फुटाएर मुलुकलाई सङ्कटमा लाने ? यो जिम्मा नेकपाकै नेताहरूको काँधमा छ । नेकपालाई जनताले विश्वास गरेर नै झन्डै दुई तिहाइ मत दिएका हुन् । तर, अहिले नेकपाभित्रको कलह हेर्दा जनता चिन्तित छन । जनतालाई खुसी र मुलुकलाई समृद्ध कसरी बनाउने भन्र्ने बिषयमा नेकपा गम्भिर हुन जरुरी छ । मुलुकका तमामखाले समस्या समाधान गरी नेकपा अघि बढनु पर्नेमा झगडा गरेर बस्नु यो जनमतको अपमान हो । राजनीतिलाई व्यापार र व्यवसायको रूपमा हेर्नुहुँदैन । यो बिषमा गम्भिर बनौं । एकले अर्कालाई गालीगलौज गर्ने र आरोप लगाउने काम बन्द गरौं । पार्टीलाई एक ढिक्का बनाउने तर्फ शीर्ष नेताहरुको ध्यान जान जरुरी छ । दुवै जना पार्टी अध्यक्षले गुटको भन्दा पनि सबैको साझा नेताका रूपमा आफूलाई उभ्याउन जरुरी छ ।

नेकपामा दुवै अध्यक्ष अब संवाद, सहमति र सहकार्य गरेर पार्टीलाई एकाताबद्ध बनाउनुको विकल्प छैन । पार्टी र सरकार सञ्चालनमा दुवै जना अध्यक्ष एक आपसमा मिलेर अगाडि बढ्ने वातावरण सिर्जना गर्नुपर्छ । आमनेता र कार्यकर्ताको भावनालाई सम्मान गर्दै पार्टीलाई एकजुट बनाएर लैजाने कौशलता र क्षमता दुवै अध्यक्षले देखाउन जरुरी छ । किनकि नेकपा फुटेर होइन, जुटेर मुलुकको समृद्धिमा अघि बढनु पर्छ । यो नै आजको आबश्यकता हो ।