चट्याङको उज्यालो

२६ असार २०७७, शुक्रबार १७:३४

रमेश उप्रेती,
सपना प्रतिबन्ध भएपछि
अनुहार देखाउने ऐना पनि
प्रतिबन्ध भएछ युगको प्रतिक्रान्ति भयो
बाटो मेटियो
भावको हत्या हो
बीच जंगलमा वर्तमान उभियो
सपना रुखमा झुन्डिएर मरेछ
ऐना चक्नाचुर भयो
आफू कस्तो छु भ्रम मात्र हो
अर्कोलाई देख्न सकिने
कहिले बाघको रुपमा
कैले ब्वाँसोको रुपमा
आक्कलझुक्कल मान्छेको रूपमा
सायद उसले पनि यस्तै देख्दो होला
फूलहरू रक्ताम्य भए
नाथे जीवनको के कुरो
शहर जंगल भएपछि
गाउँघरको के कुरो भो
घनघोर वर्षामा
चट्याङको उज्यालोमा
जंगलबाट निस्कन खोज्दै छ
मरेको सपना काँधमा बोकेर
फेरि जंगलबाट निस्केर
नयाँबस्ती बनाउने रहर बोक्दै
कल्पनाको रेखा कोर्दै
हिँडिरहेको छ हिडिरहेको छ
कहिले नथाक्ने गरी
थाक्दा मृत्युवरण न हो