गुल्मीमा मास्क नलगाई हिँड्ने १३४ जनालाई कारबाही

१४ श्रावण २०७७, बुधबार १६:२०

गुल्मी , गुल्मीमा मास्क नलगाई हिँड्ने १३४ जनालाई प्रहरीले कारबाही गरेको छ। सदरमुकाम तम्घासमा घर बाहिर निस्किँदा र पसलमा रहँदा मास्क नलगाउने १३४ जनालाई कारवाही गरिएको हो। उनीहरुलाई १०० रुपैयाँका दरले जरिवाना गरिएको र जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त एउटा मास्क दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताउनु भयो ।

उनीहरुलाई सम्झाइबुझाइ पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। १०० रुपैयाँ जरिवाना तिर्न नसक्नेलाई नियन्त्रणमा लिई प्रहरी कार्यलयमा राखिएको पन्तले बताउनु भयो । घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने र मास्क नलगाए नियन्त्रणमा लिई १०० रुपैयाँ जरिवाना गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनु भयो ।