सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले माग्यो भाडाको विवरण

काठमाण्डौ , यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका पदाधिकारीहरुले आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी होल्डिङ सेन्टरबाट प्रदेश र पालिकासम्म पुर्‍याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको सूचना उपलब्ध गराउन माग गरेका हुन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभागमार्फत विभिन्न ठाउँमा पुर्‍याउने कार्यको व्यवस्थापन गर्ने भने पनि विभागले आफूहरुलाई कुनै जानकारी नगराएको र यात्रुलाई महँगो भाडादरमा घर जान बाध्य पारेको बताउनुभयो ।

उहाँले होल्डिङ सेन्टरबाट विना टेण्डर, विना कोटेशन र विना सूचना अनाधिकृत व्यक्तिहरुमार्फत यातायात व्यवस्था विभागबाट तोकिएको भाडादर विपरीतको भाडा लिएर ठगी गरिएको बताउनुभयो । विभागले तोकेको भाडादरमा तराई क्षेत्रमा ४० प्रतिशत, पहाडी क्षेत्रमा ५० प्रतिशत र उच्च पहाडी क्षेत्रमा ६० प्रतिशत भाडा लिएर सेवा उपलब्ध गराउन सकिने भए पनि आफूहरुले कुनै सूचना नपाएको रिजालले बताउनुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सीसीएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर गाडी उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले विभागले टेण्डर हालेर, कोटेशन निकालेर गर्नुपर्ने विषय नभएको र सवारी उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्न आग्रह गर्नुभयो ।

उहाँले सवारी उपलब्ध नभए विभागले जसरी पनि उपलब्ध गराउने भनेको तर टेण्डर निकाल्नु पर्ने विषय नभएकाले व्यवसायीहरुलाई गाडी उपलब्ध गराउन जानकारी गराइएको बताउनुभयो ।

व्यवसायीहरुले भने विभागले कुनै लिखित सूचना नदिएको बताए । उनीहरुले विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाइयो त्यसको सूचना आफूहरुले पाउनुपर्ने हक रहेको भन्दै सूचना दिन माग गरे । उनीहरुले गाडी उपलब्ध गराउने विषयमा आफूहरुलाई सूचना नदिनुले ठूलै ठगी भएको स्पष्ट हुने बताए । ( उज्यालो अनलाईनबाट)


प्रकाशित | २०७७ असार २१ प्रकाशित १६:३५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ