नेकपामा उत्पन्न विवाद बेमौसमी बाजा

३ श्रावण २०७७, शनिबार १७:३९

– डा डीआर उपाध्याय,

अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गम्भीर सङ्कट देखा परेको छ । विश्व नै कोराना कहरमा रहेको नेपालमा पनि त्यसको कहरको मारमा पर्नुका साथै बाढी पहिरोले आम जनतालाई आक्रान्त बनाइरहेको वर्तमान अवस्थामा नेकपाका शीर्ष नेताहरू गम्भीर हुनुपर्नेमा, पार्टी जनताका मुद्दामा केन्द्रित हुनुपर्नेमा, आन्तरिकद्वन्द्वमा फसेको छ ।

अहिले देखिएको नेकपा भित्रको विवादले नेकपा मात्र होइन, मुलुकको राजनीतिक अभ्याससमेत सङ्कटमा पर्न सक्ने खतरा देखिएको छ । त्यसकारण अहिले सत्तारुढ नेकपाका शीर्ष नेताहरूले संयमता र लचकता प्रदर्शन गर्नुपर्ने जरुरी छ । किन भने यो सङ्कटबाट देश र पार्टीलाईं जोगाउनु पर्ने वर्तमान आबश्यकता देखिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाटसमेत राजीनामा मागेपछि नेपाली राजनीतिमा यतिवेला ठूलो तरङ्ग पैदा भएको छ ।

नेकपाले आम कार्यकर्ताको चाहनामाथि बज्रपात गर्नुहुँदैन । यसले पार्टीलाई ठूलो घाटा हुने देखिन्छ । राजनीतिक पद्धतिलाई जोगाउनका लागि पनि नेकपाका शीर्ष नेताहरूले आपसी मतभेदलाई बिर्सिएर अगाडि बढ्नुको विकल्प छैन् ।

नेकपाको दोस्रो तथा तेस्रो तहको कार्यकर्ता तथा नेतृत्वले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढाउन पहल कदमी गर्न जरुरी देखिएको छ । नेकपामा अहिले उत्पन्न भएको यो विवाद बेमौसमको बाजा हो । सरकार र पार्टी अहिले कोरोना महामारी, बाढी पहिरोलगायतका अन्य चुनौतीहरूको सामना गर्न सम्पूर्ण उर्जा परिचालन गरेर अगाडि बढ्नु पर्ने समय हो यो । नेकपा पार्टी भित्र उत्पन्न विवादले आम जनतामा सकारात्मक सन्देश दिइराखेको छैन । यसतर्फ पार्टी नेतृत्व समयमै सचेत हुन जरुरी छ ।