कोरोना संक्रमितमाथि प्रहरीको लाठी

३२ जेष्ठ २०७७, आईतवार ०८:४१

दैलेख, कर्णालीमा कोरोना संक्रमितको व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ । संक्रमितह आइसोलेसन र क्वारेन्टाइन छाडेर सडकमा निस्कन थालेका छन् । यहीक्रममा प्रहरीले दैलेखमा संक्रमितमाथि लाठी बर्साएको हो । सडकमा निस्किएकालाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दा ४ जना संक्रमित घाइते भएका छन् ।

दैलेखमा संक्रमितको संख्या धेरै भएपछि व्यवस्थापनमा सकस भएको छ आफूहरूको व्यवस्थापनमा लापरबाही भएको, उपचार तथा परीक्षणमा ढिलाइ गरिएको र आइसोलेसनको नाममा क्वारेन्टाइनमै थुन्ने काम भएको भन्दै संक्रमित आन्दोलित भएका छन् । विभिन्न माग राख्दै शनिवार नारायण नगरपालिकास्थित त्रिभुवन माविको क्वारेन्टाइनमा राखिएका संक्रमित सडकमै निस्किए । प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नारायण नगरपालिकाका विभिन्न वडाका कोरोना संक्रमितलाई त्यही विद्यालयमा राखिएको छ । वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठका अनुसार २९ जना संक्रमितसहित ४३ जनालाई सँगै राखिएको छ । उनीहरू ३२ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि रिपोर्ट नआएको र घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

घाइतेलाई सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेसन वार्डमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आन्दोलनमा उत्रिएका कोरोना संक्रमितका आफन्तले भने जनप्रतिनीधिहरूले नै लाठीचार्ज गर्न लगाएको बताएका छन् ।

‘मेरै अगाडि प्रहरीले मेरो छोरालाई कुटे, घरबाट ल्याएको सामान नै छोरालाई दिन पाइँन’ स्थानीय सुर्यप्रसाद रेग्मीले भने, ‘परीक्षण समयमै नगर्ने, स्कुलमै थुनेर कहिलेसम्म राख्ने हो रु राम्रो उपचार र रिपोर्ट छिटो निकाल्नु पर्‍यो भन्दा संक्रमितलाई नै निर्मम तरिकाले कुट्ने काम गरिएको छ, यो राज्यकै असफलता हो ।’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले भने अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरिएको बताए ।

आन्दोलनमा उत्रिएका संक्रमितहरु लट्ठी लिएर बजारमा निस्केको र प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि लाठी चार्ज गर्नुपरेको प्रहरीको दाबी छ । दैलेखमा शनिबारसम्म संक्रमितको संख्या ५ सय नाघेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।