सलहको नेपाल प्रवेशले कृषिमा थप संकट

सलह नामक किराको बथान नेपाल प्रवेश गरेको छ। कोरोना भाइरस महामारीका कारण व्यापार, औद्योगिक क्षेत्र, कृषि, अर्थतन्त्र धराशायी भइरहेका बेला सलहको प्रवेशले थप संकट निम्तिने हो की भन्र्ने चिन्ता बढेर गएको छ । यो सलह किराले कृषि बालीमा गम्भीर असर पार्ने भन्दै आम किसानमा चिन्ता थपेको छ।

यो सलहले बाली खाइदियो भने मुलुकमा पक्कै पनि अनिकाल निम्तिने संकेत देखिन्छ । रूपन्देहीको भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरबाना र सर्लाहीको नवलपुरमा प्रवेश गरेको सलहको बथान सिन्धुली, चितवन, काभ्रे, नवलपरासी, स्याङ्जा, मकवानपुर, कपिलवस्तु, पाल्पालगायतका स्थानमा फैलिइसकेको छ। मनसुनी वर्षाका कारण थोरै स्थानमा फैलिएको यो सलह सुक्खा र घाम लाग्नेबित्तिकै अन्य जिल्लामा पनि सर्न सक्ने जोखिम छ। सलहले सम्पूर्ण कृषि तथा फलफूल बालीका बोटबिरुवा, बाली, फूल, फल, डाँठ, डाँठका बोक्रासम्म खाइदिन्छ भन्र्ने कुरा कृषि बिज्ञहरुले बताएका छन ।
मन्त्रालयले सम्भावित खतरालाई सामान्य रूपमा लिँदा सलह नेपाल भित्रिएको हो । यसले निम्तिने संकटको जिम्मेवार को हुन्छ ? सलह नेपाल प्रवेश गर्न सक्ने समाचार सार्वजनिक भएसँगै नेपाली विज्ञ र बाह्य मुलुकका विज्ञहरूसँग सहकार्य गरी रोकथामका उपाय अपनाउन सकेको भए सलह नेपाल प्रवेश गर्ने थिएन। सरकारले नियन्त्रणका उपायसहित युद्धस्तरमा लागेन भने यसले निम्त्याउने संकटले ठूलो रूप लिनेछ। यसको नियन्त्रण गर्न आवश्यक पर्ने विषादी, दमकल, प्राविधिक तथा विज्ञ कर्मचारी र आवश्यक पर्ने बजेट व्यवस्थापन गरी प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी अघि बढ्नुपर्छ।


प्रकाशित | २०७७ असार १६ प्रकाशित ०९:५२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ