लकडाउनको मोडालिटी परिवर्तन गरे के होला ?

२१ जेष्ठ २०७७, बुधबार १०:५३

शान्ति सिग्देल,

चितवन , कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दिनानुदिन बढिरहेको छ । सरकारले यसलाई नियन्त्रण गर्न सकिरहेको छैन । विगत ७२ दिनदेखि जारी लकडाउन खासै प्रभावकारी बन्न सकेको छैन । लामो समयसम्मको लकडाउनका कारण आमनागरिकको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । नागरिकले राहत पाउन सकेका छैनन् । सरकारबाट जनताले ठूलो अपेक्षा राखेका थिए तर सरकारले जनताका समस्या बुझन सकेन ।

सरकारले पुरै देशलाई लकडाउन त ग-यो तर भारतसँग सीमा जोडिएका क्षेत्रलाई व्यवस्थापन गर्न सकेन । भारतमा रोजगारीका लागि गएका लाखौ नेपाली असुरक्षित रूपमा नेपाल भित्रिदासमेत सरकारले उनीहरूलाई क्वारेन्टिनमा राख्न सकेन । अहिले नेपालमा देखिएका अधिकांश संक्रमित भारतबाटै आएका हुन् । सीमा क्षेत्रलाई व्यवस्थित बनाउन नसक्दा ७२ दिनदेखिको लकडाउन असफल हुन पुगेको हो । अब सरकारले भारतबाट आउने सबै नेपालीलाई व्यवस्थित क्वारेन्टाइनमा राख्नुपर्छ । यदि त्यसो गरिएन भने नेपालमा अझै कोरोना संकट भयावह भएर जाने खतरा छ । अब सरकार विशेष सावधानी अपनाएर कोरोना नियन्त्रणका लागि केन्द्रित हुनु पर्छ । प्रदेश र स्थानीय तहहरू पनि कोरोना नियन्त्रणका लागी केन्द्रित हुन जरुरी छ । अहिलेको यो तयारी फितलो भयो ।

भारतबाट नेपाल आएका लाखभन्दा बढी नेपाली अझै पनि परीक्षणको दायराभन्दा बाहिरै छन् । उनीहरू सबैको पहिचान गरी क्वारेन्टाइनमा राख्ने वा पीसीआर परीक्षण गर्ने काम तत्काल गर्नुपर्छ । लकडाउनका कारण आर्थिक क्षेत्रसमेत तहसनहस भइरहेको छ । यति बेला अधिकाँश ब्यापारीहरुले लकडाउनलाई केही खुकुलो बनाउनुपर्ने आवाज उठाइरहेका छन । अव सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरे के होला ?
सर्वसाधारण पछिल्लो समय भने आक्रोशित बन्न थालेका छन् । दैनिक काम गरेर जीवन धान्नुपर्ने सर्वसाधारणहरु लकडाउन खुकुलो बनाउन माग गर्दै सडकमा निस्कन थालेका छन । उनिहरुले सरकारले लकडाउनको विकल्प दिनुपर्ने माग उठाएका छन् । यसरी माग उठाउनेमा साना व्यापारी र दैनिक काम गरी खानेहरु रहेका छन् । रोगले भन्दा पनि अब भोकले मर्नुपर्ने अवस्था आउन थालेको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् ।

सरकारले जेठ ३२ गतेसम्म लकडाउन बढाएको छ । तर, स्वरुप परिवर्तन गर्ने भनिएपनि कुनै सुरसार गरेको छैन । मंगलबार राजधानी काठमाडौंसहित चितवन र सुर्खेतमा प्रर्दशन भएको छ । उनिहरुले सरकारले अब विकल्प दिनुपर्ने बताएका छन् । सामाजिक दुरी कायम गर्दै सरकारले लकडाउन खुकुलो बनाउनुपर्ने, अवस्था हेरेर क्षेत्र तोक्दै लकडाउन कायम राख्नुपर्ने माग व्यापारी र सर्वसाधारणले गर्न थालेका छन् ।