काठमाडौं उपत्यकामा आउन र बाहिर जान पाइने ब्यबस्था यस्तो छ (बिज्ञप्ती सहित)

१ असार २०७७, सोमबार ०८:५१

काठमाडौं , काठमाडौं उपत्यकामा आउन र बाहिर जान पाइने ब्यबस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंले मिलाएको छ । यसका साथै नयाँ पास पनि बन्द गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं आउन जान ब्यबस्था मिलाएको र जिल्लाभरि पास बन्द गराएको जानकारी दिएको हो ।

जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै काठमाडौँमा बसोबास गर्ने र जिल्ला बाहिर रहेका मानिसलाई समेत ल्याउन व्यवस्था मिलाएको जानकारी दिएको छ । त्यसको लागि काठमाडौँको कुन नगरपालिकामा बस्ने हो त्यही नगरपालिकाले आउनुपर्ने जिल्लाको जानकारी सहित प्रवेशको अनुमति निवेदन कार्यालयमा दिनुपर्ने छ ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर पास उपलब्ध गराउने जानकारी गराएको छ । काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ ।