उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त आकस्मिक बैठक

२२ जेष्ठ २०७७, बिहीबार १३:४४

काठमाडौं , व्यवसायी तथा उद्यमीहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि परिस्थिति नियन्त्रणमा लिन उपत्यकाभित्रका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन, सुरक्षा निकाय तथा स्थानीय निकायका पदाधिकारीलगायतको उपस्थितिमा बसेको आकस्मिक बैठकमा लकडाउन व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) जनकराज दाहालले तीनवटै जिल्ला प्रशासन तथा अन्तर्गतका सुरक्षा निकायको संयुक्त बैठकले लकडाउन कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनु भयो ।

लकडाउनले जनजीवन कठिन बनाएको भन्दै बिहीबारदेखि मुलुकका विभिन्न ठाउँहरुमा पसलहरु खुल्न थालेका छन् । बिहीबार काठमाडौंको न्युरोडमा रहेका केही पसलहरु पनि खुलेका छन् ।