सांसद कमला रोका बाट काठमाडौंमा रहेका आफ्ना जिल्लाका बासिन्दालाई राहत प्रदान

७ जेष्ठ २०७७, बुधबार ०८:४०

काठमाडौं , रुकुम पूर्वबाट निर्वाचित नेकपाकी सांसद कमला रोकाले काठमाडौंमा रहेका आफ्ना जिल्लाका बासिन्दालाई राहत प्रदान गर्नु भएको छ । लकडाउनका कारण नागरिकको दैनिकी समस्यामा पर्दै गएकाले आफूले सक्दो सहयोग गरेको उहाँले बताउनु भयो ।
नेकपाको केन्द्रीय सदस्य समेत रहनु भएकी पूर्वमन्त्री रोकाले जिल्लाबाट काठमाडौं आई श्रम गर्दै गरेका मजदुर, सर्वसाधारण तथा विद्यार्थीहरुलाई राहत स्वरुप चामल वितरण गर्नु भएको हो । उहाँले परिवारको संख्या र आवश्यकता हेरेर तत्कालको समस्या समाधान हुने गरी केही सहयोग गरेको बताउनु भयो । उहाँले गोलढुंगाका ५१ परिवार, कीर्तिपुरका ६० परिवारका साथै रानीवनका केही परिवारलाई राहत सहयोग उपलव्ध गराइएको बताउनु भयो । जनताको प्रतिनिधि भएकाले आफ्नो जिम्मेवारी निर्वाह गर्नु स्वभाविक भएको उहाँको भनाई छ । आफूले चालेको अभियानमा सहयोग गर्ने श्याम श्रेष्ठ, कमल सिटौला, सञ्जय कक्षपति, गोपाल महर्जन, छेवाँग लामा, सुरतजंग मल्ललाई विशेष धन्यवाद दिनु भएको छ ।
लकडाउनमा जिल्ला पुग्नु भएकी उहाँले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्नु भएको छ । उहाँले ४० थान पीपीई सेट, १४ थान थर्मलगन, सेनिटाइजर, झण्डै ७ हजार मास्कसमेत जिल्लामा उपलव्ध गराउनु भएको छ । उहाँले जिल्लाका स्थानीय तहसँग अन्तरक्रिया र छलफल गर्नु भएको थियो । उहाँले कोरोना भाइरसको त्रास बढ्दै गएकाले सबैलाई सुरक्षित रहन र आफू पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गर्नु भएको छ । जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेकाले जिल्लाको सबै क्षेत्र र मतदातालाई ध्यान दिनुपरेको बताउनु भयो ।
जिल्लावासीले आफूहरु समस्यामा परेको जानकारी दिएपछि उहाँले अभियान चाल्नु भएको थियो । फेसबुकमा आफूलार्ई अप्ठेरो परेको उल्लेख गरेपछि आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गरेको उहाँले जनाउनु भयो । लकडाउनका कारण समस्यामा परेका जिल्लावासीलाई स्थानीय तहसँगको समन्वयमा उहाँले गाउँ पठाउन पहल समेत गर्नु भएको थियो ।