सरकार राहतका प्याकेज कार्यक्रम खै !

९ जेष्ठ २०७७, शुक्रबार १३:०२

शान्ति सिग्देल,

कोरोना महामारी संक्रमण बढ्दै गएको समाचार दिनहुँ आइरहेको छ । महामारीबाट मृत्यु हुनेक्रम पनि सुरु हुन थालेको छ । यसले सबैलाई चिन्तित बनाएको छ । महामारी रोकथामका लागि सिंगो देश लकडाउनमा छ । देश लकडाउन हुन थालेको लगातार तीन महिना हुन थाल्यो । यसले उत्पन्न गरेका समस्या पनि विकराल बन्दै गएका छन । उद्योगधन्दा कलकारखाना स्कुल , कलेज , होटल लगायत धेरै बन्द छन । धेरै नागरिक बेरोजगारीको मारमा परेका छन् । रोजीरोटीको समस्या नै प्रमुख समस्याको रुपमा खडा भएको अवस्था छ । अव धेरैलाई दैनिक गुजाराको समस्या पर्ने देखिन्छ । सहरबजार दैनिक आवश्यक उपभोग्य सामानको आपूर्ति नहुँदा चुल्हो नबल्ने अवस्था सिर्जना हुँदै गएको छ ।

सहरमा कोठा भाडामा लिएर बस्नेहरूलाई कोठाभाडा, पानी, इन्धन, बिजुली, खाद्यान्न तथा दैनिक उपभोग्य सामान जुटाउन निकै समस्या परिरहेको छ । आयआर्जनका स्रोत बन्द हुँदा जीविका चलाउन निकै कठिन बन्दै गएको छ । उधारो खाएका पसलमा पैसा दिनुपर्ने छ । उधारो खाएको पैसा तिर्न पनि लम्बिदो लकडाउनको अवस्थाले असम्भव बनाइसकेको छ । यो सबै कुरा महामारीका कारण सिर्जना भएको हो । अव सरकारले प्रभावकारी कदम चाल्नु पर्ने अवस्था देखिन्छ । जनता रोगले भन्दा भोकले मर्ने अवस्था आईसकेको छ । यसका लागि सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउनु जरुरी छ । अव सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन ढिलाइ गर्नुहुँदैन ।