सरकारको भूमिका केवल वक्तव्यमा सीमित भयोः देउवा

२८ बैशाख २०७७, आईतवार १४:०६

काठमाडौं , नेपाली कांग्रेसले सरकारलाई लिपुलेक प्रकरणमा कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहल गर्न आग्रह गरेको छ। भारतले मानसरोबर जोड्न नेपालको लिपुलेक भएर जाने सडक उद्घाटन गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले यस विषयमा कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको हो।

‘यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्चस्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न सार्वजनिक रूपले अपिल गर्दछु’ कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। भारतले दुई दिनअघि उक्त सडकको उद्घाटन गरेको थियो।

केही समयअघि भारतले नेपाली भूमि समेटेर नक्सा जारी गर्दा नेपाल सरकारले वक्‍तव्‍य जारी गरेर अरू केही नगरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। ‘नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सीमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद छ’ विज्ञप्तिमा भनिएको छ। राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय नभएर परिणाममुखी हुनुपर्ने सभापति देउवाले उल्लेख गर्नु भएको छ ।