मन्त्री अर्याललाई वरिष्ठ नेता नेपालले दिनु भयो चेतावनी

२९ बैशाख २०७७, सोमबार १३:५२

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्याललाई चेतावनी दिनु भएको छ । वरिष्ठ नेता नेपालले करिब २ सय वर्ष अघिदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको मन्त्री अर्याललाई आरोप लगाउनु भएको छ ।

सोही विषयमा नेता नेपालले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सचेत गराउँदै माफी माग्नसमेत सुझाव दिनु भएको हो । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भन्नु भयो, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस्, शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भू–भाग भएको नक्सा प्रकाशन गर्नु पर्यो ।’

साथै, उहाँले तत्काल सम्पूर्ण भू–भाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न आग्रह पनि गर्नु भएको छ । नेता नेपालले आवश्यक परे सीमानामा काँडेतार लगाउन समेत जोड दिनु भएको छ । सधैँ भारतसँग विवाद गर्नुभन्दा अब सीमानाकामा काँडेतार लगाउनेबारे अघि बढ्न पर्नेमा उहाँले जोड दिनु भएको छ ।