डा. रवीन्द्र पाण्डेको सुझावः बैंक स्टाफ तथा ग्राहकलाई कोरोनाको संक्रमणबाट सुरक्षित बनाऔं

९ जेष्ठ २०७७, शुक्रबार १३:२२

हिंजो म कामबिशेषले बैंक गएको थिएँ | हप्तामा १-२ दिन सिमित शाखा सिमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो | च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र ग्राहकबीच १ फिटको पनि दुरी थिएन |
कुनै स्टाफले माथिबाट मुख हेर्न मिल्ने गरि मास्क लगाएका थिए, कुनै स्टाफले नाकको तल तथा घांटीमा मास्क लगाएका थिए | ग्राहकसंग कुरा गर्दा आधा फिटको दुरी पनि देखिएन | ग्राहक तथा स्टाफले प्रयोग गर्ने टेबुल १ फिटको थियो होला | दुवै पक्षले मास्कभित्रबाट बोल्नुपर्दा आवाज सुन्न टाउको जोड्नुपर्ने बाध्यता देखिन्थ्यो | उही टेबल, उही डटपेन, उही चेकबुक, उही रजिस्टर प्रयोग सबैले गरिरहेका थिए | कोरोना संक्रमणको त्यो जोखिम हटाउन बैंकहरुले बिशेष ब्यबस्था गर्नुपर्ने देखिन्छ |
– हरेक स्टाफको PCR टेस्ट गर्ने | संक्रमित देखिए आइसोलेसनमा राख्ने |
– कोरोना संक्रमण भएका ग्राहक पनि बैंकमा आउछन् | तसर्थ सहि तरिकाले मास्क, पंजा, चस्मा र हेड क्याप लगाउने |
– लाइन ब्यबस्थापनको लागि ६ फिटमा चिन्ह लगाउने |
– ग्राहकसंग ६ फिटको दुरी राख्ने ब्यबस्था मिलाउने |
– डटपेन, खानेपानीको बोतल लगायतका सामग्री सेयर नगर्ने |
– छुट्टाछुट्टै टेबल ( स्टाफ र ग्राहकको ) को ब्यबस्था गर्ने |
– स्टाफले साबुनपानीले पटकपटक हात धुने |
– ग्राहकले सहि तरिकाले मास्क लगाउने, बाहिर र भित्र २ ठाउमै अनिबार्य ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुपर्ने, मोबाइल फोन, कि रिंग, पर्स आदि टेबुलमा राख्न नपाइने ..ब्यबस्था गर्ने |
– च्यानल गेट ग्राहकले छुन नपाउने | गार्डले स्प्रिट-कपासले सफा गर्दै ग्राहकलाई भित्र / बाहिर जाने व्यवस्था मिलाउने |
– धेरैबटा काउन्टर खोलेर ग्राहकको समय बचत गराउने |
– कागजका झोलामा पैसा लिने / दिने व्यवस्था मिलाउने |
– ड्युटी सकिएपछि बैंकमा लगाएका आउटर खोलेर, साबुनपानीले मिचिमिची हात धोएर मात्र घर फर्किने |

बैंक स्टाफ र ग्राहक कोरोना संक्रमणबाट बच्ने सबैभन्दा अचुक उपाय व्यक्तिगत दुरी हो | हरेक बैंकले | ६ फिटको दुरी कायम गर्ने ब्यबस्था मिलाउनु अनिबार्य छ | हामीले १-२ बर्षसम्म सामाजिक दुरी कायम गर्नुपर्ने हुनसक्छ | तसर्थ माथि उल्लेखित ब्यबस्था र अभ्यास गर्नुको बिकल्प छैन |