कलंकीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२६ बैशाख २०७७, शुक्रबार १२:०९

काठमाडौं, कलंकीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कलंकी प्रहरीका अनुसार आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक टीकाराज गेलालको मृत्यु भएको हो । गेलालको नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कलंकीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल शेखर जबरा सवार बा२१च ४३४७ नम्बरको कारमा बा७२प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा दुर्घटना भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने कार चालक जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।