बुटवलको कोरोना अस्पतालमा रहेका संक्रमित युवा अस्पतालभित्रै नाचगानमा मस्त

२३ बैशाख २०७७, मंगलवार १६:५१

बुटवल– सुनसान र एकान्त स्थानमा रहेको बुटवल धागो कारखानामा बनाइएको ५० बेडको अस्पतालमा एक जनामात्र संक्रमित कसरी बसेका होलान् र उनको उपचार तथा रेखदेख कसरी भइरहेको होला? रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित युवाले नाचेर दिन कटाउने गरेका छन् ।

उनी ‘टिकटकमा देखेको’ बोलको गीतमा नाचिरहेको देखिन्छन् । मास्क र हातमा पन्जा लगाएका युवा ५० जना अट्ने आइसोलेशन वार्डमा एक्लै छन् । यही एक्लोपनलाई हटाउन उनले बेलाबेला नाचेरै दिन बिताउने गरेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीहरुका अनुसार उनी पूर्ण रुपमा स्वस्थ अवस्थामा छन् र उनमा देखिएको कोरोना संक्रमण छिटै नै नेगेटिभ देखिनेमा विश्वस्त पनि देखिन्छन् ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले अस्पतालमा बस्नेहरुलाई दिक्क नलागोस् भनेर समयसमयमा गीत बजाइन्छ । एक्लै अस्पतालमा बस्दाबस्दै दिन कटाउन गाह्रो हुने भएकाले नाचेरै समय कटाउन सजिलो हुने उनी बताउँछन् । ‘हाम्रो शरीरलाई कुनै न कुनै रुपमा सक्रिय बनाइराख्नुपर्छ, उनी भन्छन्–नाच्नु त झनै स्वास्थ्यका लागि राम्रो हो, यसले शरीरलाई ऊर्जा प्रदान गर्छ ।’

२५ वर्षीय यी युवा लकडाउनको समयमा वैशाख ५ गते भारतबाट लुकीछिपी रुपन्देही प्रवेश गरेका थिए । ती युवा र उनको परिवारमा कोरोनाको कुनै लक्षण देखिएको छैन ।
काठमाडौंमा स्वाब जाँच गर्दा गत शुक्रवार रिपोर्ट पोजेटिभ देखिएपछि हस्पिटलको आइसोलेन वार्डमा भर्ना गरिएको थियो ।