नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

२३ बैशाख २०७७, मंगलवार १०:३७

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाका अनुसार बाँकेमा हालसम्म ५ सय ९३ जनाको आरडीटी परीक्षण गरिएको छ । बाँकेमा पीसीआर विधिबाट ३ सय ५८ को जाँचका लागि स्वाब संकलन गरिएकोमा छ । सोमबारसम्म ३९ को रिपोर्ट आउन बाँकी थियो । नेपालगन्जका कोरोना संक्रमित अनपेक्षित देखिएपछि ट्रयाकिङ्गका लागि बुटवल र काठमाडौंबाट पनि टोली पुगेको छ । नेपालगन्जमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग र स्वाब संकलन मंगलबारबाट शुरु हुने भएको छ ।

बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द  गरेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद यही वैशाख २५ गतेसम्म छ ।