लकडाउन अवधिमा १ लाख व्यक्ति प्रहरीको नियन्त्रणमा

१७ बैशाख २०७७, बुधबार १२:३४

काठमाडौं, कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीको अवधिमा करिब १ लाख जनालाई नियन्त्रणमा लिइएको छ ।

११ चैतदेखि १६ वैशाखसम्म बन्दाबन्दी उल्लङ्घन गर्ने करिब १ लाख जनालाई नियन्त्रणमा लिएर छाडिसकिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक निरजबहादुर शाहीले बन्दाबन्दीको अवधिमा अहिलेसम्म करिब १ लाख जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई तथा कोरोना रोग सङ्क्रमणबारे जानकारी गराई छोडिसकिएको जानकारी दिए ।

मङ्गलबार मात्र मुलुकभरि १ हजार ९७५ जना र १ हजार २४५ सवारी साधनलाई नियन्त्रणमा लिइएको जानकारी प्रहरी प्रवक्ता शाहीले दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले मङ्गलबार काठमाडौं उपत्यकामा बन्दाबन्दी उल्लङ्घन गर्ने १ हजार १ सय सवारी साधन र करिब १२ सय जना व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाईबुझाई छोडिएको छ ।(आजको गोरखापत्र दैनिकबाट)