भ्रष्ट छविका व्यक्ति नै किन प्रधानमन्त्रीका प्रिय हुन्छन् ?

२१ चैत्र २०७६, शुक्रबार १८:३६

काठमाडौं , प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीले आफूविरुद्धको समाचार काठमाडौं प्रेस डटकमबाट अनाधिकृत रुपमा हटाइदिए । यसो गर्नु नेपालको प्रचलित कानुुनअनुसार दण्डनीय हुन्छ । यो विद्युतीय कारोबार ऐनको बर्खिलाप हो ।

विद्युतीय कारोबार ऐन मिचेर अपराध गर्ने व्यक्ति प्रधानमन्त्री केपी ओलीका प्रिय पात्र हुन् । हुन त ७० करोड घुस खान खोज्ने गोकुल बास्कोटा पनि प्रधानमन्त्रीका धर्मपुत्र सरह मानिन्छन् ।

अस्गर अलीले प्रधानमन्त्री वा सिंहदरबारको आडमा समाचारको लिंक नै उडाएको विषयमा नेपाल पत्रकार महासंघका महासचिव रविस विष्टले बिहीबार एक विज्ञप्ति जारी गरे ।

त्यो विज्ञप्तिमा सरकारी अधिकारीहरुले प्रेसमाथि गरेको हस्तक्षेपको निन्दा गरिएको थियो । यस्तो विज्ञप्तिका सम्बन्धमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अर्को दम्भपूर्ण र दम्भपूर्ण हर्कत देखाउँदै सामाजिक सञ्जालमा लामो स्टाटस लेखे । उनले स्टाटसमा लेखे, ‘काठमाडौं प्रेस र त्यसको कुनै समाचार हटाइएको भन्ने कथित प्रकरणमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको नाममा आज जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय वा सरकारलाई दोष लगाउने गरी गर्न खोजिएको प्रपोगण्डालाई हामी खारेज गर्छौं ।’

प्रधानमन्त्रीका सल्लाहकारको यो भाषाबाटै थाहा हुन्छ, केपी ओलीले कस्ता मान्छे छानेर प्रेस सल्लाहकार बनाएका रहेछन् । अस्गर अली अपराध गर्ने, त्यसलाई प्रेस सल्लाहकारले संरक्षण गर्ने, प्रेस सल्लाहकारलाई प्रधानमन्त्रीले संरक्षण गर्ने प्रणाली विकास गरिएको देखिन्छ ।

अस्गर अलीकै कम्पनीले समाचार हटाएको स्वीकार गरिसकेको छ । अपारध भएको कबोल गरिसकेको छ । तर सूर्य थापा एकलौटी रुपमा खारेज गर्छु भनिरहेका छन् ।

यो मामिलामा नेपालका सबै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ जोडिएको छ । अस्गर अली, उनको कम्पनी र सम्बन्धित मिडिया जोडिएको छ । यो समग्र मामिला सूर्य थापाले आफ्नो निजी कम्पनी खारेज गरेझै गर्न सक्छन् रु
यो दोष थापाको होइन, यिनलाई पुल्पुल्याउने केपी शर्मा ओलीको हो ।

यिनले रवीन्द्र अधिकारीलाई पनि वाइड बडी प्रकरणमा दोषी छैनन् भनेर चोख्याए । गोकुल बास्कोटालाई त काभ्रेको प्रतिभाशाली नै मानेका छन् । ५० करोड पनि नपर्ने मेडिकल सामाग्रीका लागि १ अर्ब २४ करोड खर्च गर्न खोज्ने भानुभक्त ढकाल पनि ओलीका प्रिय पात्र नै हुन् ।
समग्रमा केपी ओली बीचमा बसेर गीत गाउने भ्रष्ट, दलाल, नाफाखोरहरु वरिपरि नाच्ने जुन अश्लील दृश्य देखिएको छ, यो आफैंमा लज्जास्पद छ । (विकास टाइम्स)