भाइरससँग त श्रमिकहरू जसोतसो बाँच्लान तर भोकबाट भने कसरी बाँच्ने ?

५ बैशाख २०७७, शुक्रबार १८:०९

बिष्णु प्रसाद शर्मा

अहिले कोरोना (कोभिड–१९)ले संसार पीडित भएको छ । यस्तो बेलामा पनि खरिद गरिएका सामग्रीमा करोडौंको भ्रष्टाचार भएको समाचार आइरहेका छन । व्यापारी वा ठेकेदारसँग साँठगाँठ गरी देशलाई डुबाउने काम भएको छ । प्रधानमन्त्रीले भ्रष्टाचारमा संलग्न मन्त्री, कर्मचारी एवं ठेकेदारलाई अहिले सम्म कारबाही गर्न सकेका छैनन् । पृथ्वीनारायण शाहको दिव्योपदेशमा घुस लिने– दिने दुवै देशका शत्रु हुन् भन्ने उल्लेख छ । यो दिव्योपदेश पालाना गर्न सके मात्र पनि मुलुकमा भ्रष्टाचार हुदैन । यो मुलुकमा घुस लिने र दिनेको मात्र बोलवाला छ । गरिब जनताको करबाट संकलन भएको राज्यको ढुकुटी स्वाहा पार्नेले मुलुकको भाग्य र भविष्य निर्माण गर्न सक्दैनन् । भ्रष्टाचारीविरुद्घ सामाजिक अभियन्ता, आमनागरिकले चर्को विरोध गर्दा उनीहरुलाई सरकारले कारवाही गर्छ । यो कस्तो सरकार हो ? जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री भ्रष्टको पक्षपोषण गर्न ब्यस्त छन् । कम्युनिस्टको सरकार भ्रष्टाचारमा लिप्त हुनु मुलुकको दुर्भाग्य हो । अहिलेका राजनीतिक दल र तिनका नेता, कर्मचारीलगायतले गणतन्त्र आएपछाडि अर्बौको मात्रामा भ्रष्टाचार गरेका समाचार बारम्बार आउने गरेका छन् ।
देशमा भ्रष्टाचार घट्नुको साटो बढिरहेको अवस्था छ । राजनीतिक नेतादेखि कर्मचारी हुँदै स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको समाचार आउने गरेका छन् । हाम्रो देशमा नीतिगत भ्रष्टाचार डरलाग्दो रूपमा रहेको छ । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट नै आफ्नो अभीष्ट पूरा गर्न नियम, कानुनलाई मिचेर फाइदा लिँदा सरकारका अन्य निकाय पनि भ्रष्टाचारमा लिप्त हुँदै गएको अवस्था छ । व्यापारी, ठेकेदार, साहु, महाजन, बिचौलियाले आफ्नो फाइदाका लागि राजनीतिक नेता वा उच्च पदस्थ कर्मचारीलाई भ¥याङ बनाएर फाइदा लिने गरेका छन् । भ्रष्टाचार केन्द्रदेखि स्थानीय स्तरसम्म हुने गरेका समाचार सञ्चार माध्यमले बाहिर ल्याउने गरेका छन् ।

मुलुकमा गणतन्त्र आइसकेपछि ठुल्ठूला भ्रष्टाचारका काण्डहरू भए । सुडान प्रकरण, वाइडबडी काण्ड, न्यारो बडी प्रकरण, एनसेल काण्ड, पीएलए प्रकरण (माओवादी लडाकु व्यवस्थापन), फोरजी प्रकरण, मेलम्ची खानेपानी आयोजना काण्ड, ३३ किलो सुन काण्ड, एनसेल काण्ड, पूर्वसञ्चार मन्त्रीको ७० करोड प्रकरण, बालुवाटार जग्गा प्रकरण, गोकर्ण रिसोर्टलगायत छन ।
गाँस, वास र कपास जनताको आबश्यकता हो । अहिले विश्वभर नै कोरोनाभाइरसको आतंक मच्चिएर दुनियाँ सबै बन्दाबन्दीमा छन ।
सरकारले कोही पनि भोकै बस्नु पर्दैन भनेको छ तर श्रमिकहरु भोकभोकै पैदलै हिडेर गाँउ फर्किन बाध्य भएका छन । बाटाबाटामा भोको पेटमा छटपटाउँदै हिँडिरहेको तस्बिर जताततै देख्न सकिन्छ । पेट रित्तै बनाएर हिँड्नुपर्ने कस्तो परिस्थिति हो ? सरकार फेरियो तर श्रमिकहरुलाई हेर्ने दृष्टिकोण फेरिएन । भाइरससँग त श्रमिकहरू जसोतसो बाँच्लान तर भोकबाट भने कसरी बाँच्ने ? शर्मा , नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुहुन्छ ।