नष्ट गरिँदै जिउँदा कुखुरा

२५ चैत्र २०७६, मंगलवार १३:४९

चितवन, कोरोना संक्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् ।

नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताए । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ । तीमध्ये चितवनमा मात्रै १५ लाख चल्ला तयार हुन्छन् । तीमध्ये १० देखि १५ प्रतिशत मात्र बिक्री भएको र अरू खाल्टोमा हालेको उनले बताए ।

बिक्री नभएर मात्र नभई दाना पाउन मुस्किल भएपछि पनि किसानले पालेका कुखुरा जिउँदै खाल्डोमा हाल्न थालेका हुन् । पोखरेलका अनुसार अहिले नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २२ करोड रुपियाँ घाटा बेहोर्नु परेको छ । नेपाली बजारमा दैनिक करिब १० लाख केजी कुखुराको मासु खपत हुने गरे पनि अहिले व्यवसाय नै ठप्प भएको किसान बताउँछन् । कुखुराका लागि आवश्यक दाना बजारमा नपाउनु र ढुवानी गर्न नसक्नु जस्ता कारण यतिबेला किसान समस्यामा परेका हुन् ।

अण्डाको माग बढ्यो उत्पादन कम

बन्दाबन्दीका कारण बजारमा ताजा तरकारीको आपूर्तिमा कमी आएसँगै अण्डाको माग बढेको छ । अधिकांश मासु पसल बन्द छन् । उपभोक्ताले किनारा तथा खाद्य स्टोरबाट अण्डा खरिद गर्न पाउँछन् ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अहिले दैनिक २५ लाख अण्डा उत्पादन भइरहेको छ । पहिले दैनिक ३० लाखभन्दा बढी अण्डा उत्पादन हुन्थ्यो, केसीले भने । अहिले पाँच लाख अण्डा उत्पादन घटेको छ । कुखुरालाई पर्याप्त दाना खुवाउन नसक्दा अण्डा उत्पादन घटेको उनको भनाइ छ ।

बजारमा अण्डाको माग बढिरहेको छ । उपभोक्ताले अण्डा किनेर राख्न थालेकाले माग बढेको हो, उनले भने, अण्डा केही दिन राखेर पनि खाना सकिने भएकाले उपभोक्ताको रोजाइमा परेको छ । मागअनुसार बजारमा अण्डा पुर्‍याउन नसकेको केसीले बताए ।(आजको गोरखापत्र दैनिकबाट)