समुद्रमुनि फेला पर्‍यो ६० हजार वर्ष पुरानो जंगल

अलबामा तटमुनि फेला परेको ६० हजार वर्ष पुराना रूखका काठ। तस्बिर: सिएनएन

सिएनएन

यो आजभन्दा करिब ६० हजार वर्षअघिको कुरा हो, जति बेला मानव पुर्खा अफ्रिकाबाट विभिन्न ठाउँ बसाइँ सर्न थालेका थिए।

त्यही समयतिर मेक्सिको खाडीको किनारमा साइप्रस रूखहरूको घना जंगल विकास हुँदै थियो। रूखहरू फैलिँदै गए, अग्लिँदै गए, त्यही क्रममा कतिपय रूख बूढो पनि भए।

बूढा रूखहरू मक्किएर ढले। ढलेका ती रूख कालान्तरमा समुद्री किनारको बालुवामुनि पुरिए।

समय बित्दै गयो। समुद्री सतह बढ्दै गयो। किनारहरू समुद्रको पानीले ढाकिए र ती बूढा रूखका अवशेष विशाल सागरमुनि विलिन भए।

आज मानव सभ्यताले ठूलो फड्को मारिसकेपछि वैज्ञानिकहरूले ६० हजार वर्षपहिले समुद्रको गर्भमा हराएका तिनै रूखका अवशेष पत्ता लगाएका छन्। अहिले यो ठाउँ अलबामा तटमा पर्छ।

समुद्रमुनि प्राग–ऐतिहासिक जंगलको अवशेषमा वैज्ञानिकहरू यति बेला जडिबुटी र जीवन खोज्दैछन्। र, त्यसबाट नयाँ–नयाँ औषधि पत्ता लगाउने सूत्र पहिल्याउँदै छन्।

समुद्रको पिँधबाट ल्याइएको ६० हजार वर्ष पुरानो काठको नमूना। तस्बिर: सिएनएन

यो खोज सन् २००४ मा सुरू भएको हो। त्यति बेला ठूलो आँधीहुरीले अलबामा तटका बालुवा उडाएर भित्र दबिएका कतिपय अवशेष उदांग पारेको थियो।

नेशनल ओसनिक एन्ड एट्मोस्फेरिक एड्मिनिस्ट्रेसनले गत साता प्रकाशित गरेको लेखअनुसार त्यहाँ पानीको सतहभन्दा ६० फिटमुनिसम्म जंगलका अवशेष पाइएका छन्। अहिलेसम्म केही वैज्ञानिक र फिल्म निर्माताहरूले उक्त जंगल हेरेर आइसकेका छन्।

गत डिसेम्बरमा नर्थइस्टर्न युनिभर्सिटी र उत्ताह युनिभर्सिटीका वैज्ञानिकको एउटा टोलीले त्यहाँ बृहत अनुसन्धान गर्‍यो। उनीहरूले प्राग–ऐतिहासिक जंगलका केही काठ पानीबाट झिकेर ल्याए।

अनुसन्धान निम्ति पानीमुनि हामफाल्नेमा नर्थइस्टर्न युनिभर्सिटीको वातावरण विज्ञानका प्राध्यापक ब्रायन हेल्मुथ एक हुन्।

‘त्यो दिन पानीको सतह शान्त थियो। हामीले पिँध पनि त्यस्तै शान्त होला भन्ने अपेक्षा गरेका थियौं,’ हेल्मुथले सिएनएनलाई भनेका छन्, ‘हामी पिँधसम्मै पुग्यौं। त्यो चक्लेट मिसिएको दूधको सागरमा फाल हालेजस्तै थियो। जति मुनि जान्थ्यौं, आँखाअगाडि त्यति अँध्यारो छाउँथ्यो।’

उनले यो पनि भने, ‘आफ्नै हात आँखाअगाडि ल्याउँदा पनि केही देखिन्थेन।’

समुद्रमुनि उनीहरूले थुप्रै सार्क पनि देखे, जसले अनुसन्धानलाई जटिल र जोखिमपूर्ण बनायो। तर, यी सबै संकट पार गर्दै जब पिँधमा पुगे, उनीहरूको खुसीको सीमा रहेन।

‘त्यहाँको दृश्य अचम्मलाग्दो थियो,’ उनले सम्झे, ‘आँखाले छर्लंग नदेखे पनि पिँधमा ठूल्ठूला रूखका जरा छन् भनेर हामी सजिलै अनुमान लगाउन सक्थ्यौं। यस्तो लाग्थ्यो, समुद्रमुनि घना जंगल छ।’

‘हामीलाई हजारौं वर्ष पुरानो समयमा फर्केको अनुभूति भयो,’ उनले भने।

उनका अनुसार, ती काठ ६० हजार वर्ष पुराना भए पनि लामो समयदेखि बालुवाको पत्रमुनि खाँदिएर एकदमै सुरक्षित थिए। कुहिएका थिएनन्।

‘तपाईं जुनसुकै टुक्रा हातमा लिनुस्, बाहिरको सग्लो काठ समातेझैं लाग्थ्यो,’ हेल्मुथले विस्तार लगाए, ‘काठको रङ पनि लगभग उस्तै।’

६० हजार वर्ष पुरानो काठमा जीवको अवशेष खोज्दै वैज्ञानिक। तस्बिर: सिएनएन

वैज्ञानिकहरूको उत्साह त्यति बेला अझ बढ्यो, जब उनीहरूले केही नमूना झिकेर प्रयोगशालामा ल्याए। प्रयोगशालामा ती काठलाई सूक्ष्म रूपमा केलाउने काम भयो। त्यसमा कुनै जीवका अवेशष पाइन्छ कि भनेर मिहिन अध्ययन गरियो।

‘दसौं हजार वर्षदेखि पानीमुनि दबिएको काठमा थुप्रै जीवका अवशेष फेला परेका छन्,’ नर्थइस्टर्न युनिभर्सिटीको मरिन साइन्स सेन्टरका वरिष्ठ प्रयोगशाला प्रबन्धक फ्रान्किस कोईले भने, ‘यो हाम्रो निम्ति अझ खुसीको कुरा हो।’

अहिलेसम्म ती काठबाट तीन सयभन्दा बढी जीवका अवशेष निकालिएका छन्। यस्ता अवशेष विज्ञानका लागि नयाँ होइनन्। समुद्रमुनि जहाँ–जहाँ वनस्पति छन्, तीसँगै जीव पनि फेला पर्छन्।

तर, ६० हजार वर्ष पुरानो काठमा ब्याक्टेरियासमेत फेला पर्नुलाई वैज्ञानिकहरूले नयाँ खोज मानेका छन्। यी ब्याक्टेरियाबाट मानिसको ज्यान बचाउन सक्ने विभिन्न खालका औषधि बन्न सक्ने उनीहरूको विश्वास छ।

‘हामी काठका अवशेषबाट ब्याक्टेरिया छुट्टयाउने काम गरिरहेका छौं। केही नयाँ ब्याक्टेरिया फेला परेका छन्, जसमा हामीले अहिलेसम्म काम गरेका थिएनौं,’ युटा विश्वविद्यालयका अनुसन्धान प्राध्यापक मार्गो हेगुडले भने।

तीमध्ये बाह्रथरीका ब्याक्टेरियालाई औषधिमा प्रयोग गर्न सकिने सम्भावना’bout अध्ययन हुँदैछ।

वैज्ञानिकहरू यो अनुसन्धान थप अघि बढाउन फेरि समुद्रमुनि हामफाल्न चाहन्छन्। तर, कोरोना भाइरसको महामारीपछि अहिलेलाई स्थगित भएको छ। उनीहरू केही समय आफूसँग भएका नमूनाको प्रयोगशाला परीक्षणमै व्यस्त हुनेछन्।

यस वर्ष अन्त्यसम्म परीक्षण नतिजा सार्वजनिक हुने वैज्ञानिकहरूले बताएका छन्।


प्रकाशित | २०७६ चैत्र २७ प्रकाशित १०:४९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ