बिल गेट्सको पाँच वर्षअघिको भबिष्यवाणी थियो : अबको प्रकोप आणविक युद्ध होइन महामारी हुनसक्छ , त्यसको लागि हामी तयार छैनौ

२० चैत्र २०७६, बिहीबार २०:०९



कोभिड १९ अर्थात् नोवेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर ४० हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ। सबैजसो देशमा फैलिएको यो भाइरसबाट करिब ९ लाख मानिस संक्रमित भइसकेका छन्। अझ पनि यो रोग विश्वभर फैलिने क्रम रोकिएको छैन।

सन् २०१४ मा विश्वले इबोला आउटब्रेकको सामना गरेको थियो। विभिन्न स्वास्थ्यकर्मीहरुको साहसी कदम र केही भाग्यशाली अवस्थाका कारण पनि इबोलालाई विश्वले पराजित गर्‍यो। सो क्रममा महामारीको समयमा हामीले के गर्नुपर्ने थियो भन्ने कुराहरु पनि सिक्यौँ।

त्यही समयमा अमेरिकाका सफल व्यापारी, सफ्टवेयर डेभलोपर तथा लगानीकर्ता बिल गेट्सले विश्व अर्को महामारीको लागि तयार नभएको टिप्पणी गरेका थिए। ‘टेड टक’ नामक कार्यक्रममा उनले अर्को महामारीको सामना गर्न अभ्यास, खोपहरुको अनुसन्धान तथा स्वास्थ्यकर्मीहरुको तालिममा लगानी गर्दै तयारी गर्नुपर्ने सुझाएका थिए।

उनले बिल एण्ड मेलिन्डा फाउन्डेसनमार्फत स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएका छन्। फाउन्डेसनले विशेषगरी विपन्न मुलुकमा प्रभावकारी स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको छ। फाउन्डेसनले विश्वका विभिन्न संघसस्थाहरुसँग सहकार्य गरी स्वास्थ्य क्षेत्रमा अत्याधुनिक प्रविधिको विकास गर्ने काम गरिरहेको छ।

यस्तो उनको भाषणको पूर्णपाठ।

बच्चा बेलामा हामीलाई सबैभन्दा चिन्तित बनाउने प्रकोपको विषय थियो आणविक युद्ध। त्यसैले हामीले घरको बेसमेन्टमा खानेकुरा र पानीले भरिएको ड्रम राखेका थियौँ। ताकि आणविक आक्रमण भइहाल्यो भने बेसमेन्टमा गएर सुरक्षित हुने अनि ड्रममा भएका खानेकुरा खाने।

अहिले विश्वव्यापी प्रकोपको सबैभन्दा ठूलो जोखिम भनेको आणविक युद्ध होइन। आगामी केही दशकमा करोड बढी मानिसहरुको मृत्युको कारण युद्ध नभई अति संक्रामक भाइरस हुनेछ, मिसाइल नभई माइक्रोब्स हुनेछन्।

यसको कारण यो पनि हो कि हामीले सम्भावित आणविक युद्धको प्रतिरक्षामा अधिक लगानी गरेका छौँ। तर, एपिडेमिक (महामारी) को रोकथाम प्रणालीमा हाम्रो लगानी अत्यन्तै न्यून छ।

हामी अर्को एपिडेमिकको सामना गर्न तयार छैनौँ।

इबोलाको उदाहरण हेरौँ।

तपाईँहरुले यसको बारेमा पत्रपत्रिकाहरुमा पढ्नु भएकै होला, यो निकै कठिन चुनौती हो।

यसमा समस्या भनेको हामीसँग भएका संयन्त्रले राम्रोसँग काम गरेनन् भन्ने होइन, समस्या त यो हो कि हामीसँग कुनै संयन्त्र नै थिएन। वास्तवमा सो क्रममा केही भुल भएका छन्।

हामीसँग प्रभावित क्षेत्रमा जानका लागि इपिडेमियोजिस्टहरु (महामारी विज्ञ) तयारी अवस्थामा थिएनन्। जो त्यहाँ गएर रोगको बारेमा अध्ययन गरी कतिसम्म फैलिएको छ भनेर हेर्न सक्थे। केस रिपोर्टहरु कागजी रुपमा मात्रै आए। अनलाइनमा राखिँदासम्म धेरै ढिला भइसकेको थियो अनि ती रिपोर्टहरु निकै गलत पनि थिए।

त्यहाँ जानको लागि मेडिकल टिम पनि तयारी अवस्थामा थिएन। यतिसम्म कि हामीसँग मानिसहरुलाई तयार पार्ने कुनै विधि पनि थिएन। मेडिसिन्स सान्स फ्रोन्टियर्सले प्रभावित क्षेत्रहरुमा स्वयंसेवक परिचालन गर्न निकै ठूलो भूमिका खेले। तर पनि हामी हजारौँ मानिसहरुलाई प्रभावित देशहरुमा परिचालन गर्न आवश्यकताभन्दा निकै नै सुस्त भयौँ। अझ ठूला महामारीमा त झन लाखौँ मानिसहरुलाई खटाउनु पर्ने हुन्छ।

त्यहाँ उपचारका लागि भइरहेका प्रयासहरुको अध्ययन गर्ने कोही थिएन। रोगको निदान गर्ने पनि कोही भएनन्। के-कस्ता संयन्त्रहरुको प्रयोग गर्न सकिन्छ भने बुझिदिने पनि कोही थिएन।



उदाहरणको लागि हामीले रोगबाट निको भएकाहरुको रगतको नमूना लिएर प्रशोधनमार्फत प्लाज्मा निकाली मानिसहरुमा राखेर सुरक्षित गर्न सक्थ्यौं तर त्यो कसले गरिदिने?

यसकारण सो क्रममा थुप्रै गल्ती भए। अनि यस्ता गल्ती भनेको विश्वको लागि नै असफलता हो। विश्व स्वास्थ्य संगठनको काम एपिडेमिकको निरीक्षण गर्ने हो तर मैले भनेका यी कुरा गर्ने होइन्।

यता चलचित्रमा भने फेरि फरक स्थिति छ, जहाँ राम्रा इपिडेमियोजिस्टहरुको समूह तयारी अवस्थामा हुन्छ। उनीहरु स्थितिलाई नियन्त्रणमा लिन सफल हुन्छन। तर, यो काल्पनिक मात्रै हो।

यदि हामी अर्को एपिडेमिकको लागि तयार रहन असफल भयौँ भने, त्यसको नतिजा इबोलाको भन्दा पनि बढी विनाशकारी हुनेछ।

यो वर्ष (२०१५) को इबोलाको संक्रमण हेरौँ। यसबाट करिब १० हजार मानिसको मृत्यु भयो, जुन अधिकांश तीन पश्चिमी अफ्रिकी मुलुक (गिनी, लाइबेरिया र सियरा लियोन)का थिए।

यो रोग बढी नफैलिनुमा तीन कारणहरु छन्।

पहिलो भनेको स्वास्थ्यकर्मीहरुले गरेका धेरै साहसी काम। उनीहरुलाई संक्रमितको पहिचान गरे र थप फैलिनबाट रोके।

दोस्रो भनेको भाइरसको प्रकृति थियो। इबोला हावाको माध्यमबाट सर्दैन। र यसबाट संक्रमित भएपछि अधिकांश मानिसहरु अत्यन्तै बिरामी हुन्छन् र थला नै पर्छन्।

र, तेस्रो कारण भनेको यो भाइरस शहरी क्षेत्रसम्म पुग्न पाएन जुन निकै भाग्यशाली थियो। यदि यो शहरी क्षेत्रमा पुगेको हुँदो हो त संक्रमित मानिसहरुको संख्या अधिक हुन्थ्यो।

तर अर्को पटक हामी यति भाग्यमानी नहुन पनि सक्छौँ। भाइरसको संक्रमण भइसकेपछि पनि अति नै बिरामी हुने अवस्था नहुन सक्छ। जसकारण संक्रमित मानिस विमानमार्फत यात्रा गर्नेछन्, बजारमा जाँदा किनमेलका लागि जानेछन्। त्यतिबेला भाइरसको स्रोत इबोला जस्तै प्राकृतिक विपत्ति हुन सक्छ अथवा त्यो जैविक आतंकवाद पनि हुन सक्छ।

त्यसकारण केही यस्ता कुरा छन् जसले अवस्थालाई हजारौँ गुणा खराब बनाउन सक्छ।

उदाहरणको लागि हावाको माध्यमबाट फैलिने स्पेनिस फ्लू भाइरसको मोडेल हेरौँ, जसले १९१८ मा विश्वव्यापी महामारीको रुप लिएको थियो। यो भाइरस विश्वभर यति छिटो फैलियो कि यसबाट करिब ३ करोडभन्दा बढी मानिसहरुको मृत्यु भयो। यसकारण यो निकै नै गम्भीर समस्या हो र हामी यस विषयमा चिन्तित बन्नै पर्छ।

वास्तवमा भन्ने हो भने हामीले अहिले निकै राम्रो प्रतिकार्य संयन्त्र बनाउन सक्छौँ। हामीले हामीसँग भएका विज्ञान र प्रविधिबाट भरपुर फाइदा लिन सक्छौँ। हामीसँग सूचनाको आदानप्रदानका लागि मोबाइल फोन छ। त्यस्तै स्याटेलाइट (भूउपग्रह) को प्रयोग गरेर हामीले मानिसहरु कहाँ छन् र कहाँ गइरहेका छन् भने पत्ता लगाउन सकिन्छ।

जीव विज्ञानमा पनि हामीले निकै उपलब्धि हासिल गरिसकेका छौँ। जसको माध्यमबाट हामीले निकै छोटो समयमा भाइरसको अध्ययन गरेर त्यसविरुद्ध लड्न औषधि तथा खोपहरुको विकास गर्न सक्छौँ।

हामीसँग संयन्त्र छन् तर ति संयन्त्रहरु समग्र विश्वव्यापी स्वास्थ्य प्रणालीमा प्रयोग गर्न जरुरी छ। महत्वपूर्ण कुरा भनेको हामी तयारी अवस्थामा रहनुपर्छ।

मेरो विचारमा महामारीको तयारीका लागि हामीले सिक्नु पर्ने महत्वपूर्ण पाठ भनेको पनि हामीले युद्धको तयारी कसरी गर्छौ त्यही नै हो। जसरी युद्धको लागि सैनिकहरु हरबखत तयारी अवस्थामा रहन्छन्, महामारीको तयारी पनि सो अनुरुपको हुनुपर्छ।

उदाहरणको लागि नेटो (३० अमेरिकी तथा युरोपेली मुलुकहरु बीचको अन्तरदेशीय सैनिक गठबन्धन) को मोबाइल युनिट जुनसुकै अवस्थामा पनि परिचालित हुन हरदम तयारी अवस्थामा रहेको हुन्छ। नेटोले सैनिक प्रशिक्षित छन् या छैनन् भन्ने जान्नका लागि युद्धको अभ्यास पनि गर्न गरेको छ। उनीहरुले रणनीतिको बारेमा बुझे-नबुझेको बारेमा पनि परीक्षण गरिरहेका हुन्छन्। ताकि उनीहरु आवश्यक परेको बेलामा युद्धमा भाग लिन पूर्ण रुपमा तयारी अवस्थामा होउन्।

हामीलाई महामारीको सामाना गर्न पनि यस्तै प्रकारको तयारीको आवश्यकता छ। त्यसो भए के हुन त मुख्य कुराहरु?

गरिब देशहरुमा बलियो स्वास्थ्य प्रणाली हुनुपर्‍यो, ताकि आमाहरुले सुरक्षित रुपमा शिशुलाई जन्म दिन सकुन्, बालबालिकाहरुले सबै प्रकारका खोप पाउन सकुन्। हामीलाई आवश्यक औषधिको आपूर्ति गर्ने संस्था तथा तालिमप्राप्त प्रशस्त जनशक्ति आवश्यक छ। अनि हामीले सैनिक जनशक्तिसँग पनि समन्वय गर्न पर्छ, जसबाट हामीले उनीहरुको निकै छिटो परिचालन हुन सक्ने र छिटो काम गर्न सक्ने क्षमताको फाइदा लिन सक्छौँ।

हामीले थुप्रै अभ्यास गर्नु पर्छ, ताकि कमी कमजोरी पत्ता लागुन्। अमेरिकामा गरिएको पछिल्लो अभ्यास भनेको २००१ मा गरिएको थियो, जुन त्यति प्रभावकारी हुन सकेन।

अनि खोप तथा उपचारका विधिहरुका क्षेत्रमा अनुसन्धान र विकासको पनि उत्तिकै आवश्यकता छ। अत्यन्तै छिटो काम गर्न सक्ने एडिनो एसोसिएटेड भाइरस जस्ता केही ठूला ब्रेकथ्रु पनि भएका छन्।

यी सबै गर्नको लागि कति लगानी लाग्ला भनेर मैले भन्न त सक्दिनँ तर म के कुरामा विश्वस्त छु भने यी कार्य सम्भावित विनाशको तुलनामा निकै सस्तो छ।

विश्वव्यापी फ्लू महामारी भएमा ३० खर्बभन्दा बढीको आर्थिक संकट निम्तिने विश्व बैंकले अनुमान गरेको छ। त्यस्तै हामीले लाखौँ करोडौँ मानिस पनि गुमाउने छौँ।

त्यसैले महामारीको पूर्वतयारीमा गरिने लगानीबाट हामीले निकै महत्वपूर्ण उपलब्धि पनि हासिल गर्न सक्छौँ। आधारभूत स्वास्थ्य सेवा, अनुसन्धान तथा विकास जस्ता कुराहरुले विश्वव्यापी रुपमा सुरक्षित वातावरण निर्माण सहयोग गर्नेछ। त्यसकारण यो हाम्रो प्राथमिकताभित्र पर्नुपर्छ।

हतोत्साहित हुनुपर्ने आवश्यकता छैन। खानेकुराको सञ्चित गरेर बेसमेन्टमा गएर लुकाउनुपर्ने अवस्था छैन। तर हामीले छिटोभन्दा छिटो कमद चाल्नुपर्ने हुन्छ किनकि समय हाम्रो पक्षमा छैन।

वास्तवमा इबोला एपिडेमिकबाट हामीले सिक्नुपर्ने एउटा पाठ भनेको अर्को महामारी भोग्न तयारी अवस्थामा रहनु हो। इबोला हाम्रो लागि चेतावनी हो।

यदि हामीले अहिले देखिनै तयारी सुरु गर्‍यौँ भने मात्रै अर्को एपिडेमिकको सामना गर्न सक्छौँ।

धन्यवाद!