नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना पहिलो पटक स्थानीयमा देखियो संक्रमण

२२ चैत्र २०७६, शनिबार १५:४४

काठमाडौं । नेपालभित्र पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ।

कैलालीमा यसअघि दुबईबाट फर्किएका एक जना पुरूषमा कोरोना भाइरस देखिएको थियो।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीकाअनुसार ‘चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए । ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए । अहिले उनकै आफन्तलाई संक्रमण देखिनु भनेको कोरोना संक्रमणको लोकल ट्रान्समिसन हो ।’

‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उनले अघि भने, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’

कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले बताए ।

यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र देखिएका थिए ।