कोरोनाले सबभन्दा च्याप्ने दमका बिरामीलाई होइन रहेछ

न्यूयोर्कको एक क्लिनिकमा दमका बिरामीको श्वासप्रश्वास परीक्षण गरिँदै। तस्बिर: न्यूयोर्क टाइम्स

द न्यूयोर्क टाइम्स कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुँदा दमका बिरामी बढी जोखिममा छन् भन्ने मानिँदै आएको छ। स्वास्थ्य संगठनहरूले उनीहरूलाई संक्रमणबाट जोगिन सचेत गराउँदै आएका छन्। त्यस्ता बिरामीलाई कोरोना लाग्यो भने अरूभन्दा गम्भीर असर देखिन्छ भन्ने मत छ।

यो महिना न्यूयोर्कमा कोरोना लागेर मृत्यु भएका बिरामीलाई विगतमा कुन रोग थियो भनी विश्लेषण गर्दा दमका बिरामी खासै जोखिममा देखिन्नन्।

अनुसन्धाताहरूले त्यस्ता १० वटा दीर्घरोगको सूची बनाएका थिए, जुन कोरोना मृत्यु बढाउने कारण बन्नसक्छ। दम उक्त सूचीमा परेको छैन।

पछिल्लो समय अमेरिका कोरोना महामारीको केन्द्र बनेको छ। त्यहाँ अहिलेसम्म ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ, जसमध्ये न्यूयोर्कमा मात्र १६ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

कोरोनाबाट मृत्यु भएका ती १६ हजारमध्ये जम्मा ५ प्रतिशतलाई दमरोग थियो भन्ने अस्पतालको तथ्यांकबाट देखिन्छ। यसलाई तुलनात्मक रूपले सामान्य मानिएको छ।

‘हामीले दमका बिरामीलाई कोभिड–१९ ले गम्भीर असर पारेको देखेका छैनौं,’ न्यूयोर्कस्थित लेनोक्स हिल अस्पतालका सघन उपचार फिजिसियन डा. बुसरा मीनाले भने, ‘बरू यसको तुलनामा मोटोपना, मधुमेह र मुटुको रोग भएका बिरामीलाई कोरोना संक्रमणपछि बढी च्यापेको पाइएको छ।’

यो अस्पतालले अहिलेसम्म ८०० भन्दा बढी कोभिड–१९ का बिरामी उपचार गरिसकेको छ।

कोरोना महामारी बेला न्यूयोर्कको यो अनुभवबाट दमका बिरामीले केही सन्तोषको सास फेर्न सक्छन्। तर, महामारीको प्रारम्भिक चरणमै यो तथ्यांकका आधारमा निष्कर्षमा पुग्न नसकिने चिकित्सकहरू बताउँछन्।युरोपेली अनुसन्धाताको समूहले ‘ल्यान्सेट’ मा प्रकाशित गरेको एक कार्यपत्रमा पनि कोभिड–१९ बाट गम्भीर असर परेका बिरामीमा दमरोग खासै धेरै नदेखिएको उल्लेख छ। अमेरिकाको वासिङ्टन राज्यमा २४ जना गम्भीर बिरामीको पुरानो रोग केलाउँदा जम्मा तीन जनामा दमरोग भेटिएको थियो।

न्यूयोर्कका अनुसन्धाता तथा उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, कोभिड–१९ ले निम्न रोगका बिरामीलाई छिटो थला पारेको पाइएको छ — उच्च तनाव, मधुमेह, उच्च कोलस्ट्रोल, कोरोनरी आर्टरी, डिमेन्सिया र मुटुसम्बन्धी रोगहरू।

‘अब्सट्रक्टिभ पल्मुनरी’ (सास फेर्न गाह्रो हुने रोग) भएका बूढापाकालाई पनि कोभिड–१९ ले धेरै असर पारेको न्यूयोर्कको अनुभव छ।

त्यस्तै, मिर्गौलासम्बन्धी रोग, क्यान्सर र हृदयघात भएका बिरामीलाई पनि कोरोना संक्रमण भयो भने गम्भीर असर पार्नसक्छ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकाको करिब ८ प्रतिशत जनसंख्यालाई दमरोग छ। यो भनेको करिब २ करोड ५० लाख हो।

दमरोगमा श्वासनली खुम्चिन्छ। यस्ता बिरामीलाई धेरै अक्सिजन खाँचो पर्दा सास फेर्न अप्ठ्यारो हुन्छ। त्यस्तो बेला स्याँ स्याँ हुने र खोकी लाग्ने लक्षण देखिन्छन्।

चिकित्सकहरूका अनुसार, दमका बिरामीलाई कोरोनाको गम्भीर असर नदेखिनुको एउटा कारण उनीहरूले नियमित रूपमा लिने औषधि पनि हुनसक्छ। उक्त औषधिले दम नियन्त्रणमा राख्ने हुँदा बिरामीले भाइरसको प्रभाव र सास फुल्ने समस्यासँग एकैचोटि जुध्नुपर्दैन। अरू बिरामीका हकमा भने एकैचोटि दोहोरो मार पर्दा गम्भीर अवस्थामा पुग्छन्।

स्वास्थ्य विज्ञहरूका अनुसार, दमरोगले कोभिड–१९ को जोखिम बढाउँछ भन्ने कुनै प्रमाण फेला परेको छैन। तर, त्यस्ता बिरामीलाई कोभिड–१९ संक्रमण भइहाल्यो भने उनीहरूको अवस्था कस्तो हुन्छ भन्ने प्रश्न चाहिँ छ।

‘तपाईं युवा हुनुहुन्छ र सामान्य दमको रोग छ भने कोभिड–१९ को खासै धेरै जोखिम हुँदैन। यस्तो अवस्थामा दम भएका र नभएका बिरामीलाई संक्रमणको सम्भावना बराबर हुन्छ,’ अमेरिकन लङ्स एसोसिएसनका बोर्ड सदस्य डा. डेभिड हिलले भने।

उनले अगाडि भने, ‘जसलाई दमको रोग गम्भीर अवस्थामा पुगिसकेको छ, उसलाई भने कोभिड–१९ ले पनि गम्भीर असर पार्न सक्छ।’

कोभिड उपचारमा अग्रपंक्तिमा रहेको माउन्ट सिनाई अस्पतालका पल्मोनरी मेडिसिन विशेषज्ञ डा. लिन्डा रोजर्स पनि कोरोना बिरामी वा मृत्युमा दमरोग लागेकाहरूको संख्या कम भएको बताउँछिन्।

कोरोना संक्रमण भएका अधिकांश दमका बिरामीलाई टेलिमेडिसिनकै माध्यमबाट उपचार गर्न सफल भएको उनको अनुभव छ।

‘मैले उपचार गरेका दमका बिरामी नियमित रूपले एस्टेरोयड लिइरहेका थिए। उनीहरूलाई कोरोनाले गम्भीर अवस्थामा ल्याउला भन्ने डर थियो,’ उनले भनिन्, ‘तीमध्ये केहीले कोरोनालाई सजिलै जितेको देखेर म छक्क परेँ।’

यति हुँदाहुँदै उनी दमरोगलाई ‘सम्भावित जोखिम’ सूचीबाट हटाइहाल्न चाहँदिनन्।

‘केटाकेटी र वयस्कलाई दमरोग लाग्नुको पहिलो कारण भाइरल संक्रमण नै हो, त्यसैले यसलाई सम्भावित जोखिमबाट हटाउन चाहन्नँ,’ उनले भनिन्।

अमेरिकन कलेज अफ एलर्जी, आश्मा र इम्युनोलोजीका अध्यक्ष डा. जे एलेन मिडोज यसमा सहमत छन्।

‘अमेरिकामा पहिले पाइएको सामान्य कोरोना भाइरस र इन्फ्लुएन्जाले दमरोग बढाएको उदाहरण छ,’ उनले भने, ‘कोभिड–१९ ले मात्र यस्तो असर पार्दैन भनेर ठोकुवा गर्न सक्दैनौं।’

सरुवारोग विशेषज्ञ डा. यङ जे झूनले विभिन्न भाइरस’bout गहन अध्ययन गरेका छन्। उनको प्रयोगशालाले सरुवारोगको संक्रमणमा दमरोगले के–कस्तो प्रभाव पार्छ भनी परीक्षण गरेको थियो। अहिलेसम्म उपलब्ध तथ्यांकलाई राम्ररी विश्लेषण गर्नुपर्ने खाँचो उनी औंल्याउँछन्।

दमका बिरामीलाई कोरोना संक्रमणको जोखिम बढी हुन्छ भनी पुष्टि गर्ने तथ्यांक कम भए पनि उनी त्यस्ता बिरामीलाई सतर्क रहन भने सुझाव दिन्छन्।

‘यसलाई पुष्टि गर्न हामीलाई धेरै बिरामीमा सर्वेक्षण गरिएको बृहत तथ्यांकको खाँचो पर्छ,’ उनले भने।


प्रकाशित | २०७७ बैशाख ५ प्रकाशित १९:५९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ