कोरोनाबाट मर्नेमा महिलाभन्दा पुरुष बढी, किन?

महिलाहरूमा त्यस्तो के छ, जसले उनीहरूलाई पुरुषको दाँजोमा बढी सुरक्षित बनाइरहेको छ? तस्बिर: द न्यूयोर्क टाइम्स

(हामीले न्यूयोर्क टाइम्सबाट भावानुवाद गरेको यो लेख वैज्ञानिक तथा फिजिसियन डा. स्यारोन मोलेमले लेखेका हुन्।)

देश–महादेशका सीमा नाघेर, सागर–महासागरका छालहरू तरेर संसारका कुना–कुनामा फैलिएको कोरोना भाइरसको एउटा तथ्यांक रोचक छ। यो तथ्यांक महामारी फैलिएका सबै देशमा समान पाइन्छ।

यसै आधारमा अहिले नै निष्कर्ष निकाल्न हतार होला, तर यो केही न केही संकेत अवश्य हो।

सबैतिरबाट समान रूपले आइरहेको तथ्यांक हो, कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ।

धेरैले यसलाई महिला र पुरुषको जीवनशैली र आनीबानीसँग जोडेर हेरेका छन्। महिलाको दाँजोमा पुरुषहरू बढी धूमपान गर्ने हुँदा फोक्सोको संक्रमण र श्वासप्रश्वासका रोगले चाँडै छुन्छ। त्यस्तै, पुरुषहरू स्वास्थ्यप्रति बढी लापरबाह हुन्छन् र सरसफाइमा त्यति ध्यान दिँदैनन्। नियमित हात धुनमा त महिलाभन्दा धेरै पछाडि छन्।

आनीबानीको यो भिन्नताले संक्रमित पुरुषलाई मृत्युको मुखसम्म पुर्‍याउन केही न केही भूमिका पक्कै खेल्यो होला। तर, के भाइरस फैलिएका सबै मुलुकमा पुरुषहरू महिलाभन्दा फोहोरी छन्? के चीनदेखि अमेरिका, इटाली, स्पेन, बेलायत सबैतिर पुरुषहरू नियमित हात धुँदैनन्?

कतिपय मुलुकमा महिलाहरू धेरै धूमपान गर्छन्, त्यस्ता ठाउँमा पनि कोरोनाबाट ज्यान गुमाउनेमा पुरुषहरू नै धेरै किन?

महिलाहरूमा त्यस्तो के छ, जसले उनीहरूलाई पुरुषको दाँजोमा बढी सुरक्षित बनाइरहेको छ?

महिला र पुरुषको यो जैविक भिन्नता कोरोना भाइरससँग मात्र जोडिँदैन। जुनसुकै आपतविपत डटेर सामना गर्न र त्यसबाट आफूलाई बचाउनमा पुरुषहरू सधैं नै कमजोर रहिआएका छन्। यो वैज्ञानिक रूपले प्रमाणित तथ्य हो।

हरेक उमेर र अवस्थाका महिला जैविक रूपले त्यही उमेरका पुरुषको दाँजोमा बढी शक्तिशाली हुन्छन्। शारीरिक परिश्रमका काम गर्नुपर्दा भलै उनीहरू कमजोर देखिएलान्, तर उनीहरूको आँत मजबुत हुन्छ। मान्छेलाई रोगव्याधीसँग लड्न वा आपतविपतसँग जुध्न शक्ति दिने उसको बाहिरी शारीरिक सामर्थ्यले होइन, भित्री आँतले नै हो।

उदाहरणका लागि, भर्खरै जन्मिएका शिशुमध्ये पहिलो जन्मदिन मनाउनेमा बालिकाहरू नै अगाडि छन्। अर्थात्, एक वर्षभन्दा कम उमेरको बाल मृत्युदर केटाहरूमा धेरै छ।

यति मात्र होइन, अहिले सय वर्ष नाघेका व्यक्तिहरूमा ८० प्रतिशत महिला छन्। यसलाई अझै तन्काएर ११० वर्षको अनुपात हेर्ने हो भने, महिलाको संख्या ९५ प्रतिशत पाइन्छ।

पुरुषहरूको शारीरिक तौल र उचाइ महिलाभन्दा धेरै हुन्छ। उनीहरूको मांसपेशी बलिया हुन्छन्। शारीरिक सामर्थ्य पनि बढी हुन्छ। तर, जन्मदेखि मृत्युसम्म मान्छेले झेल्नुपर्ने संकटसँग संघर्ष गर्ने सामर्थ्य दाँज्दा महिलाले पुरुषलाई सजिलै पछार्छन्। महिलाको हातगोडाको मांसपेशी भलै कमजोर होला, तर संकटसँग जुध्ने, बाँच्ने र अघि बढ्ने मामिलामा उनीहरूको भित्री आँत एकदमै मजबुत हुन्छ।

हामीले धेरै समय के अनुमान गरेर हिँड्यौं भने, पुरुषहरूको असामयिक मृत्युको कारण अस्वस्थ जीवनशैली र गलत आनीबानी हो। तर, यो सही थिएन। वास्तवमा पुरुषभन्दा महिलाको ‘जीन’ नै बलियो थियो, जसले उनीहरूलाई रोगव्याधीसँग लड्ने र आपतविपत पन्छाएर अघि बढ्ने शक्ति दिन्थ्यो।

यो शक्ति जुनसुकै उमेर, शैक्षिक अवस्था र आर्थिक हैसियतका महिलामा बराबर हुन्छ। महिलाहरू चाहे धूमपान गर्ने हुन् या मद्यपान, उनीहरूको बाँच्ने क्षमता त्यस्तै आनीबानी भएका पुरुषभन्दा धेरै हुन्छ।

मैले आफ्नै एउटा व्यक्तिगत अनुभवबाट महिलाहरूको यो जैविक विशेषता नजिकबाट देखेको छु।

केही वर्षअघिको कुरा हो। वसन्त याम थियो। जीउ कमाउने लामो हिउँद सकेर हावा न्यानो भएको थियो। मैले मेरी श्रीमती इमासँग यो याममा कतै एकान्त समय बिताउने बाचा गरेको थिएँ। उनी र म मात्र, जहाँ हामी लामो समयदेखि मनमा खप्टिएका भावना साट्न सकौं।

हामी कार लिएर निस्क्यौं। सडक सुनसान थियो। मेरो एउटा हात उनको हातमाथि थियो। त्यसपछि के भयो, मलाई याद छैन।

प्रत्यक्षदर्शीहरूले सुनाएअनुसार, हामीलाई एउटा गाडीले जोडदार ठक्कर दिएको थियो। रातो बत्ती मिचेर ७० किलोमिटर प्रतिघन्टाभन्दा तीव्र गतिमा हुइँकिएर आएको त्यो गाडी सिधै हाम्रो कारसँग ठोक्कियो। हाम्रो कारले दुई बल्ड्याङ खायो। कारको हाल बेहाल थियो। छत कुच्चिएर सुरुङ बनेको थियो। कुनै पनि एअरब्याग सग्ला थिएनन्।

गाडीको त्यस्तो अवस्था देखेर प्रत्यक्षदर्शीहरूले हाम्रो माया मारिसकेका रहेछन्। तर, हामी जीवित थियौं।

घटनास्थलमा भेला भएका प्रत्यक्षदर्शीले हामी दुवैलाई क्षतविक्षत गाडीबाट बाहिर निकाले। एम्बुलेन्स डाके र हामीलाई अस्पताल पठाए।

दुर्घटनाको दाँजोमा हाम्रो शरीरको घाउ खासै ठूलो थिएन। मलाईभन्दा इमालाई बढी चोट लागेको थियो। अस्पताल जाँदै गर्दा मलाई कारका सातैवटा एअरब्यागले कसरी हामीलाई बचाउन सकेनन् भन्ने ख्याल मात्र आएन, यो पनि सोचेँ, धन्न मलाईभन्दा इमालाई बढी चोट लाग्यो!

यस्तो सोच्नु मेरो स्वार्थ थिएन।

मलाई थाहा थियो, इमाको चोट बढी भए पनि मेरोभन्दा चाँडै भरिनेछ। उनी मभन्दा पहिले नै तङ्ग्रिने छिन्। र, मभन्दा पहिले नै आरामले हिँडडुल गर्न थाल्ने छिन्।

आखिरमा त्यस्तै भयो। उनकोभन्दा मेरो घाउ निको हुन धेरै समय लाग्यो।

महिलाहरूको ‘जीन’ बलियो हुनुको कारण के त? यसको सुरूआत हाम्रो क्रोमोजोमबाट हुन्छ।

महिलाहरूको कोषमा दुइटा ‘एक्स’ क्रोमोजोम हुन्छ– एउटा उसको आमाबाट आएको, अर्को बाबुबाट। जबकि, पुरुषहरूको कोषमा दुइटा फरक क्रोमोजोम हुन्छ– एउटा ‘एक्स’, अर्को ‘वाई’।

हामीले के बुझ्नुपर्छ भने, ‘एक्स’ क्रोमोजोमले हाम्रो शरीरका मुख्य अंगहरूको क्षमता बढाउने काम गर्छ। हाम्रो शारीरिक विकास, मस्तिष्क विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने यही ‘एक्स’ क्रोमोजोमले हो।

यस्तो महत्वपूर्ण जैविक तत्व बढी हुनुले महिलाहरू रोगव्याधी र संकटसँग लड्न बढी समर्थ हुने वैज्ञानिक बताउँछन्। कुनै कारणले एउटा ‘एक्स’ क्रोमोजोममा समस्या आयो भने शरीरले अर्को जगेडा ‘एक्स’ प्रयोग गर्न सक्छ। यही कारणले महिलाहरूलाई कतिपय रोगले सजिलै छुँदैन। छोए पनि त्यसलाई परास्त गर्न बढी सक्षम हुन्छन्।

कुरा एउटा कोष र त्यसमा हुने एउटा जगेडा ‘एक्स’ क्रोमोजोमको होइन। मानव शरीरमा हजारौं जीन हुन्छन्। ती प्रत्येकमा हुने दुइटा ‘एक्स’ क्रोमोजोमले महिलाको शरीरभित्र निरन्तर समन्वय गरिरहेको हुन्छ। एउटा ‘एक्स’ मा कुनै समस्या आए अर्को ‘एक्स’ ले त्यसलाई प्रतिस्थापन गर्छ।

अब हामी दुइटा ‘एक्स’ क्रोमोजोमले कोरोना भाइरससँग लड्न कसरी काम गर्छ हेरौं।

मानौं, कुनै महिलाको शरीरमा भाइरस पस्यो। अब उसको प्रत्येक जीनमा रहेका दुइटा ‘एक्स’ क्रोमोजोममध्ये जो भाइरस पत्ता लगाउन र परास्त गर्न सक्षम छ, त्यो तुरुन्तै सक्रिय हुन थाल्छ। त्यस्तै, जुन ‘एक्स’ क्रोमोजोममा रोग प्रतिरोधात्मक क्षमता छ, त्यसले पनि आफ्नो काम गर्न थालिहाल्छ।

शरीरमा ‘एक्स’ क्रोमोजोमको संख्या धेरै हुँदा महिलाहरू अन्तिम समयसम्म भाइरसविरुद्ध डटेर लड्न सक्छन्।

यही सुविधा पुरुषलाई हुँदैन। उनीहरूको जीनमा भाइरसविरुद्ध लड्न एउटा मात्र ‘एक्स’ क्रोमोजोम हुन्छ। सोचौं त, त्यो एउटा ‘एक्स’ क्रोमोजोमले कोरोना भाइरस चिन्न सकेन वा त्यसले संक्रमण गरेको कोषलाई मार्न सकेन भने के होला?

यस्तो अवस्थामा, भाइरसविरुद्ध लड्ने उसको क्षमता सीमित हुनेछ। एक्लो ‘एक्स’ क्रोमोजोम आफ्नो शक्ति भइञ्जेल लड्छ, नसकेपछि परास्त हुन्छ।

कल्पना गर्नुस् त, दुइटा देशले आ–आफ्नो सेनाको फौज लडाइँको मैदानमा पठाएका छन्। फरक के भने, एउटाले आफ्नो फौजलाई सुविधासम्पन्न हातहतियार र पर्याप्त गोलाबारुदसहित पठाएको छ, अर्को देशको सेनासँग दसौं वर्ष पुरानो थ्री-नट-थ्री बन्दुक मात्र छ। अब युद्ध मैदानमा कुन देशका सिपाहीको लड्ने क्षमता बढी होला?

रोगसँग लड्ने मामिलामा महिला र पुरुषको अवस्था पनि यस्तै हो।

भन्नुको मतलब, जिन्दगीको तनाव होस् वा भवितव्य, महामारीको संकट होस् वा शारीरिक असक्तता, वा अहिलेजस्तो संक्रमणविरुद्धको लडाइँ नै किन नहोस्, महिलाहरूसँग लड्नलाई ‘एक्स’ क्रोमोजोमको दोब्बर हतियार छ। यो जैविक गुण पुरुषसँग छैन।

अरू सबै अवस्था सामान्य रह्यो भने मभन्दा मेरी श्रीमती इमा लामो समय बाँच्नेछन्। हामी दुवैको शरीरमा अधिकांश अंग समान छन्, तर ती अंगमा क्यान्सर लाग्ने खतरा उनलाई भन्दा मलाई धेरै छ। कदाचित् हामी दुवैको एउटै अंगमा क्यान्सर लाग्यो भने पनि त्योसँग लड्ने र हराउने क्षमता मेरोभन्दा उनकै धेरै छ।

अर्को महत्वपूर्ण पक्ष, हामी दुईबीच यौन हर्मोनमा हुने भिन्नता हो। पुरुषहरूको यौन हर्मोनमा ‘टेस्टोस्टेरन’ को मात्रा बढी हुन्छ, जसले रोग प्रतिरोधक प्रणालीलाई खुम्च्याउने काम गर्छ। यसविपरीत, महिलाहरूको यौन हर्मोनमा हुने ‘एस्ट्रोजेन’ ले रोग प्रतिरोधक प्रणालीलाई अझ सक्रिय बनाउँछ।

यसको एउटा मूल्य भने महिलाहरूले चुकाउनुपर्छ।

रोग प्रतिरोधक प्रणालीले हाम्रो शरीरलाई भाइरस र ब्याक्टेरियासँग लड्न मद्दत गर्छ। उक्त प्रणालीले कुनै बाह्य तत्वको आक्रमण भएको चाल पाउनेबित्तिकै प्रत्याक्रमण गर्छ। सामान्यतया हाम्रो प्रतिरोधक प्रणालीले शरीरको भित्री कोष र बाह्य तत्वबीच फरक छुट्टयाउन सक्छ। तर, कहिलेकाहीँ फरक छुट्टयाउन नसक्दा गल्तीवश शरीरकै अंगहरूमा आक्रमण गर्छ र छाला, हाडजोर्नी लगायत विभिन्न रोगहरू जन्माउँछ।

पुरुषको कोषमा ‘एक्स’ क्रोमोजोम संख्या कम भएकाले यो जोखिम कम हुन्छ।

महिला र पुरुषबीचको जैविक भिन्नताले चिकित्सा पद्धतिमा कस्तो असर पार्छ भन्ने’bout खासै गहन अध्ययन हुन सकेको छैन। यसको कारण के भने, चिकित्सा क्षेत्रमा अहिलेसम्मका अधिकांश अनुसन्धान पुरुष कोष, पुरुष तन्तु, पुरुष अंग र भाले जनावरहरूमा भएका छन्। हामीलाई पुरुषभन्दा महिलाहरूका ’boutमा कम ज्ञान छ। केही विशेष स्त्रीरोग र प्रजननसँग सम्बन्धित विषयबाहेक महिलाहरूलाई त्यसरी नै उपचार गरिँदै आएको छ, जसरी पुरुषलाई गरिन्छ।

यी दुईबीच शारीरिक तथा जैविक भिन्नताका आधारमा छुट्टाछुट्टै मेडिकल अनुसन्धान गरिएको भए रोग उपचार प्रक्रिया पनि फरक–फरक हुन सक्थे। महिलाहरूको उपचार पद्धति अहिलेभन्दा प्रभावकारी हुन सक्थ्यो।

हाम्रो पुरुष–केन्द्रित मेडिकल अनुसन्धान र स्वास्थ्य उपचार प्रणालीमा परिवर्तनको खाँचो छ। कोरोना भाइरस महामारीमा संसारभरि महिलाभन्दा पुरुषको मृत्युदर बढी हुनुले हाम्रो उपचार पद्धतिलाई नयाँ ढंगमा हेर्नुपर्ने खाँचो बढाएको छ।

करिब २० वर्षअघि नेसनल एकेडेमी अफ साइन्सको इन्स्टिच्यूट अफ मेडिसिनको एउटा रिपोर्टमा भनिएको थियो– ‘महिला वा पुरुष हुनु एक महत्वपूर्ण आधारभूत भिन्नता हो, जसलाई हामीले ध्यानमा राख्नुपर्छ।’

आज दुई दशकपछि पनि चिकित्सा क्षेत्र र स्वास्थ्य उपचार पद्धतिमा हामीले त्यो भिन्नता पहिचानमा खासै प्रगति गर्न सकेका छैनौं। चिकित्सा क्षेत्रको भविष्य अब यसैमा निर्भर छ।

सेतोपाटी बाट


प्रकाशित | २०७६ चैत्र २१ प्रकाशित २१:१९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ