सामूहिकरुपमा लुगा धुने पाउडर उत्पादन गर्दै महिला

२४ फाल्गुन २०७६, शनिबार १७:५६

पाल्पा रामपुरका महिला आयआर्जन गर्न लुगाधुने पाउडर उत्पादन शुरु गर्न थालेका छन् । रामपुर नगरपालिका वडा नं ८ स्थित जनचेतना आमा समूहका महिलाले सम्हुमा लुगा धुने पाउडर उत्पादन शुरु गरेका छन् ।

यहाँका पाँच महिलाले आयआर्जन लिन र फुर्सदको समय सदुपयोग गर्दै व्यावसायिक तवरले सो पाउडर उत्पादनको थालनी गरेका हुन् । समूहमा आबद्ध पाँच महिला मिलेर तालीम लिएर आएपछि पहिलो चरणमा परीक्षणका रुपमा करिब रु ३० हजार बराबरको लुगा धुने पाउडर उत्पादन गरिसकेको सविता अर्यालले बताए ।

महिलाले अहिले शुरुको समय भएकाले थोरैथोरै रकम उठाएर सो पाउडर उत्पादन शुरु गरेको समूहका अर्का सदस्य दिलमाया श्रेष्ठ बताउछन । बिस्तारै लगानी बढाउँदै उत्पादनलाई वृद्धि गरी फुर्सदमा रहेका महिलालाई यस कार्यमा सहभागी बनाउने उनको भनाइ छ ।

पहिलो चरणमा परीक्षणका रुपमा उत्पादन गरिएको उक्त पाउडरको उत्पादन राम्रो रहेको र यसको प्रवद्र्धनका लागि वडा कार्यालयले सहयोग गर्ने वडा सदस्य मोहन श्रेष्ठ बताउछन । तालीम लिएर आएपछि महिलाले यसको व्यवसायमा उत्साहजनकरुपमा लागेको उनले बताए । नगरपालिकाले महिलालाई लक्षित गरी सो पाउडर उत्पादन तालीम दिएपछि व्यावसायिकरुपमा महिलाले उत्पादन कार्य शुरु गरेका हुन् ।

नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन महिला विकास शाखाअन्तर्गत रु एक लाख ५० हजार बजेटमार्फत लुगा धुने पाउडर उत्पादनसम्बन्धी तालीम दिएको सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिए । तालीममा नगरका ३० महिलालाई दुई दिनसम्म उक्त पाउडर उत्पादन तालीम दिएपछि उनीहरुले व्यावसायिक तरिकाले उत्पादन कार्य शुरु गरेका उनले बताउए

महिलाले घरमै बसेर पनि लुगा धुने पाउडर उत्पादन गर्न सकिने हँुदा तालीम अत्यन्तै प्रभावकारी रहेको वडा नं ५ स्थित हरितक्रान्ति बहुद्देश्यीय महिला समूहबाट सहभागी तुलसी रेग्मीले बताए। चुनढुङ्गा, सोडा, सेन्ट, क्यामिकललगायत आठ थरीका सामानको मिश्रणबाट सो पाउडर बनाउन सकिने उनले बताए । बिक्रीका लागि मात्र नभई घरायसी प्रयोजनका लागि उपयोगी हुने भएकाले यसको उत्पादनमा महिला आकर्षित भएका छन् । (आजको अर्थबाट)