सरकारले एसईई नरोक्ने

३ चैत्र २०७६, सोमबार १०:४८

काठमाडौं, सरकारले एसईई परीक्षा नरोक्ने भएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको अवस्थामा परीक्षा नरोकेको भन्दै अभिभावक महासंघलगायत सरोकारवाला निकायले भने असन्तुष्टि जनाएका छन् ।

केही दिन शिक्षण संस्था बिदा दिन गरेको आग्रहलाई बेवास्ता गर्दै परीक्षा गर्न लागेको हो।

१ हजार ९ सय २५ केन्द्रमा करिब ५ लाख विद्यार्थीको सहभागिता हुने परीक्षामा सरकारले संक्रमणको चरणमा पुगेको अवस्थामा परीक्षा सञ्चालन गर्न लागेको हो। पछिल्लो तथ्यांकअनुसार हाल विश्वका १ सय २७ मुलुकमा कोरोना संक्रमण देखिइसकेको छ।

राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा भइसकेको अवस्थामा परीक्षा गर्नुपर्ने सुझाव मन्त्रालयलाई दिएपछि चैत ६ गतेदेखि परीक्षा हुने पक्का भएको बताउँदै आएको छ। बोर्डले सबै परीक्षा केन्द्रमा स्वास्थ्य–कक्ष राखेर परीक्षा सञ्चालन गर्ने दाबी गरे तापनि अहिलेसम्म कुनै तयारी छैन। परीक्षा आउन ३ दिनमात्र बाँकी छ।

बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले स्वास्थ्य–कक्ष राखेर परीक्षा दिने तयारी भइरहेको दाबी गरे । उनले स्वास्थ्य परीक्षणसहित परीक्षा दिने व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई पत्र पठाएको जानकारी दिँदै भने, ‘हामी पूर्णरूपमा तयारी अवस्थामा रहेका छौं, सरकारी निर्णयअनुसार चल्नेछौं।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सो विषयमा छलफल भइरहेको जानकारी दिँदै भने, ‘कोरोना संक्रमण हुनसक्ने विषयमा हामी संवेदनशील छौं, परीक्षाअघि नै केही निर्णय गर्नेछौं ।’

शिक्षा मन्त्रालयमा आइतबार नै बसेको बैठकमा शिक्षा सचिव महेश दाहालले अवस्था हेरेर निर्णय गरिने बताएका थिए । ‘गम्भीर अवस्था आए लक डाउन गर्नसमेत पछि हट्दैनौं तर अहिले नै परीक्षा रोकिहाल्ने अवस्थामा छैनौं।’ उनको भनाइ थियो। (नेपाल समाचारपत्र)