राजधानीका पाँच अस्पतालमा एक सय २० आइसियू बेड थपिँदै

३ चैत्र २०७६, सोमबार ११:२८

काठमाडौं, सरकारले कोरोना संक्रमितको उपचारका लागि उपत्यकामा १२० शैय्याको आइसियू थप गर्ने भएको छ । टेकु अस्पतालमा ४०, सशस्त्र प्रहरी अस्पताल, वीर, पाटन र सैनिक अस्पतालमा २०–२० शैय्याको आइसियू बनाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी आइसियू कोरोना संक्रमितका लागि मात्रै प्रयोग हुनेछन् ।

आइसियू सेटअपका लागि सशस्त्र प्रहरी अस्पतालले मन्त्रालयसँग सात करोड ६४ लाख ७४ हजार सात सय रकम मागेको छ । त्यस्तै, वीरले ११ करोड ९० लाख र पाटनले सात करोड ६४ लाख ७४ हजार सात सय बजेट मागेको छ । टेकु अस्पतालले ४० मध्ये तत्काल दश शैय्या थप्न सात करोड ५० लाख मागेको छ । त्यही रकमले आवश्यक जनशक्ति पनि थप गर्ने उसको प्रस्ताव छ ।

सैनिक अस्पतालले भने २० शैय्याको आइसियू तयार पार्न अर्थ मन्त्रालयबाट सीधै बजेट पाउनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै अस्पताललाई प्रक्रिया अघि बढाउन निर्देशन भइसकेको छ । एक हप्ताभित्र टेन्डर गर्ने तयारी छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति पनि थप्ने भएको छ । छात्रवृत्तिमा सरकारी तथा निजी क्षेत्रमा अध्ययन गरिरहेका बिएन नर्सहरूलाई उपचारमा खटाइनेछ । स्वास्थ्य मन्त्रालयले उनीहरूलाई सोमबारदेखि तालिम दिने भएको छ ।

अब श्वास–प्रश्वासका गम्भीर बिरामीको पनि कोरोना परीक्षण गरिने
आइसियूमा भर्ना भएर उपचार गराउने कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामीको पनि अब कोरोना परीक्षण गरिने भएको छ । यस्ता बिरामीमा कोरोना भाइरस हुन सक्ने आशंकामा परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनमा हालै गरिएको अध्ययनले कडा प्रकारको श्वास–प्रश्वासको समस्याले पनि कोरोना भाइरसको संक्रमण हुन मुख्य भूमिका खेलेको देखाएको छ । ५५ हजारभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा १८ प्रतिशतमा कडा प्रकारको श्वास–प्रश्वास समस्या देखिएको थियो । त्यस्तै, ८८ प्रतिशत संक्रमितमा ज्वरो, ६७ प्रतिशतमा सुक्खा खोकी, ३८ प्रतिशतमा थकान, ३३ प्रतिशतमा खकारसहितको खोकी र १४ प्रतिशतमा घाँटी दुख्ने समस्या पाइएको थियो ।

पछिल्लो समय नेपालमा पनि कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामी बढेपछि सचेतना अपनाउन उनीहरूको कोरोना परीक्षण गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि फागुनसम्म दुई हजार ६ सय २७ बिरामीले आइसियूमै भर्ना भएर उपचार गराएका छन् । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ ।

देशभरका एक सय १८ अस्पतालका आइसियूमा भर्ना भएका बिरामीको तथ्यांक संकलन गरिएको महाशाखाका तथ्यांक अधिकृत कृष्ण पाण्डेले बताए ।

नेपालमा अहिलेसम्म श्वास–प्रश्वासमा समस्या भएर आइसियूमा भर्ना भएका बिरामीको कोरोना परीक्षण गरिएको छैन । तर, अब काठमाडौंका दश अस्पतालको आइसियूमा भर्ना भएका यस्ता बिरामीको कोरोना परीक्षण अनिवार्य गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर, पाटन, वीरेन्द्र सैनिक, शिक्षण, नर्भिक, ग्रान्डी, बयोधा, ह्याम्स र नेपाल मेडिसिटी अस्पतालको आइसियूमा भर्ना भएका श्वास–प्रश्वाससम्बन्धी रोगका बिरामीको कोरोना परीक्षण गरिने उनले बताए ।

कडा प्रकारको श्वास–प्रश्वाससम्बन्धी बिरामीमा श्वास छिटोछिटो लिने अथवा श्वास लिन गाह्रो हुने, घाँटी र करङबीचको पेटको मांसपेशी भित्रबाहिर गर्ने, हात काम्ने, बेसुर हुने, जिब्रो र हातको औँला नीलो हुने, बेहोस हुनेलगायतका लक्षण देखिन्छन् ।(आजको नयाँ पत्रिकाबाट)