प्रधानमन्त्री ओलीले डाक्टरहरूलाई भने – चिन्ता नलिनुस्, म एक हप्तामा क्याबिनेट राख्छु

२० फाल्गुन २०७६, मंगलवार २०:३५

काठमाडौं, फागुन २०प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजे हुने भएको छ।

त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टिमले उनको मिर्गौलाको प्रत्यारोपण गर्नेछन्।

‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोण भोलि ९ बजे हुने भएको छ’, प्राध्यापक डाक्टर अरूण सायमीले भने,‘केहीबेर अघि उहाँको डायलासिस गरिएको छ।’

उनका अनुसार प्रत्यारोपणअघि गरिने सबै चेकजाँच गरिएको र सबै रिपोर्ट सामान्य रहेको छ।

सायमीले प्रधानमन्त्रीको आत्मविश्वास निकै बलियो भएको बताए।

‘हामीलाई बरू केही हुन्छ भन्ने लाग्छ। उहाँ त चिन्ता नलिनुस्। मलाई केही हुँदैन एक हप्तामा क्याबिनेट बैठक राख्छु भन्नुहुन्छ,’ सायमीले भने।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि उनी सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए।

उनलाई भान्जी नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेकी हुन्।