प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै राजनीतिक गतिविधि सुस्तायो

३० फाल्गुन २०७६, शुक्रबार ०९:५७

काठमाडौं, मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सरकारी कामकारबाहीका साथै राजनीतिक गतिविधि सुस्ताएको छ।

सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएकाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेताको भेटघाटसमेत सुस्ताएको छ। फागुन १८ पछि नेकपाको सचिवालय बैठकसमेत बसेको छैन।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको बैठक बोलाएका छैनन् भने प्रधानमन्त्री नै अस्पतालमा बसेपछि मन्त्रिपरिषद्को बैठक पनि बस्न सकेको छैन। गत मंसिरमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएयता दाहालले दुईपटक सचिवालय बैठक बोलाएका थिए।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएपछि उनले बैठक बोलाएका छैनन्।

गत साता दाहाल पनि रुघा लाग्यो भनेर दुई दिनसम्म निवासमै आराम गरेर बसेका थिए। त्यसपछि शनिबार भैंसेपाटीस्थित वामदेव गौतमको घरमा पुगेर भेटघाट गरेका थिए।

आइतबार चितवनमा नेकपा जिल्ला कमिटीको बैठकमा सहभागी भएर काठमाडौं आएपछि उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए। डेढ सातादेखि दाहाल कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

दाहालले राष्ट्रपति भण्डारीसँग पार्टी उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा कुराकानी गरेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि गौतमलाई राष्ट्रियसभामा लैजाने दाहालले बताएका छन्।

दाहाल पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुसँग निरन्तर सम्पर्कमा छन्। निवासमा आउने नेताहरुसँग अध्यक्ष दाहालले भेटघाट गरिरहेको उनी निकट स्रोतले बतायो।

पार्टीका वरिष्ठ नेता माधव नेपाल पनि आन्तरिक भेटघाटबाहेक सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। केही दिन यता नेपालको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा अन्य नेताहरुसँग भने भेटघाट भइरहेको छ।

‘पार्टीका नेताहरुसँग भेटघाट भइरहेको छ तर कुनै कार्यक्रममा सहभागिता छैन। पार्टीका कार्यक्रम पनि कोरोना भाइरसका कारण बन्द छन्। त्यसकारण घरमा सामान्य भेटघाटमात्रै भएको छ’, नेपाल निकट स्रोतले भन्यो।

गौतमले दाहालबाहेक अन्य नेताहरुसँग भेटघाट गरेका छैनन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र कोरोना भाइरस दुवैका कारण राजनीतिक गतिविधि बन्द भएको गौतमको सचिवालयले जनाएको छ। (आजको नागरिक दैनिकबाट)