काठमाडौं उपत्यकामै हजार आइसोलेसन बेड

७ चैत्र २०७६, शुक्रबार ०९:१५

काठमाडौं, सरकारले काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी आइसोलेसन बेड तयारी अवस्थामा राख्ने भएको छ । कोरोना भाइरस संक्रमण भइहाले उपचारका लागि पूर्वतयारी गरिएको हो ।

उपत्यकामा १ सय २० वटा सघन उपचार कक्ष आईसीयू बेड तयारी अवस्थामा छ । उपत्यकाबाहिर पनि सोहीअनुसारको तयारी गर्न सरकारले निर्देशन दिएको छ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा।युवराज खतिवडाले संघ, प्रदेश र स्थानीय तहको सहकार्यलाई व्यवस्थित ढंगले अघि बढाइएको बताए । उनले भने, ‘तीनै तहको सरकारको सहकार्य राम्रो विन्दुमा छ । सबै मिलेर यो समस्याबाट बच्न र सबै नागरिकलाई सुरक्षित तहमा राख्न सक्छौं ।’

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।वासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन रोकथामका उपाय अपनाइएको बताए । मुलुकभरका सबै अस्पतालमा निमोनियाका बिरामीको सूची तयार गरी परीक्षण भइरहेको उनले बताए ।

उनका अनुसार स्वदेशी एवं विदेशी विज्ञसँग परामर्श गरी रोकथामको उपाय र भविष्यमा आउने चुनौती सामना गर्न पूर्वतयारी भइसकेको छ । कोरोना भाइरस परीक्षणका लागि सम्बन्धित चिकित्सकको सिफारिस चाहिने उनले प्रस्ट पारे ।

पछिल्लो समय पर्ख र हेरको अवस्थामा रहँदारहँदै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्थामा पुगेको डा।खतिवडाले बताए । डब्लूएचओले नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमा कोरोनाको उच्च जोखिम रहेको बिहीबार जनाएको थियो । डब्लूएचओको दक्षिणपूर्वी एसियाकी निर्देशक पुनम खेत्रपाल सिंहले संक्रमणबाट बचाउने प्रयास गर्नुपर्ने बताएकी थिइन् ।

संक्रमणको प्रभाव पर्न सक्ने जनाएपछि शैक्षिक संस्था बन्द गर्नुपरेको सरकारले स्पष्ट पारेको छ । मन्त्री खतिवडाले दीर्घकालीन असर नपरोस् भन्ने हेतुले शैक्षिक संस्था बन्द गरिएको जानकारी दिए ।

उनले भने, ‘ अभिभावकले पनि विद्यार्थीलाई किन जोखिममा राख्ने भन्ने दबाब दिएको विषय पनि मनन ग¥यौं । नागरिक समाजका प्रबुद्ध व्यक्तिले पनि परीक्षा सार्दा के बिग्रन्थ्यो भन्ने कुरा राख्नुभयो । जोखिममा विद्यार्थीलाई किन राख्ने भन्ने भएपछि केही समयका लागि परीक्षा स्थगित गरिएको हो ।’

शैक्षिक क्यालेन्डर नबिग्रने गरी व्यवस्थापन गर्न सकिने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरिएको उनले बताए । त्यस्तै विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षिक गतिविधि चैत मसान्तसम्मका लागि स्थगन गरिएको छ ।(आजको अन्नपूर्ण पोष्टबाट)