दैनिक १० हजार मास्क उत्पादन गरिँदै

२७ फाल्गुन २०७६, मंगलवार ०९:२५

काठमाडौ, कोभिड–१९ संक्रमणको त्रास बढेसँगै बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले उत्पादन सुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

‘उपकरण भए उद्योगीले जति पनि मास्क उत्पादन गर्न सक्छौं भनेका छन्,’ उनले भने, ‘मास्क सहजै उत्पादन तथा बिक्रीवितरण गर्न जे–जति आर्थिक वा अन्य सहयोग गर्नुपर्छ, हामी गर्छौं ।’

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार मास्क उत्पादनका लागि कच्चा पदार्थको व्यवस्थापन भइसकेको छ ।

दुई दिनपछि नै दैनिक १० देखि २० हजार थान मास्क उत्पादन हुने उनले जनाए । ‘उत्पादन भएपछि सस्तोमै जनतालाई मास्क उपलब्ध गराउँछौं,’ उनले भने, ‘पहिले बजारमा पाइने मूल्यमै दिन्छौं ।’ मास्क मात्रै होइन, कोभिड–१९ संक्रमित बिरामीको नजिक जाने चिकित्सक र अन्य व्यक्तिले प्रयोग गर्नैपर्ने पीपीई अर्थात् व्यक्तिगत सुरक्षा सामग्री पनि नेपालमा उत्पादन हुन थालिसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार उत्पादित पीपीई हाल विश्व स्वास्थ्य संगठनमा गुणस्तर जाँचका लागि पठाइएको छ । ‘हाम्रो देशमा सबै सामान विदेशबाट आउँछन्,’ उनले भने, ‘अमेरिकाबाट पीपीई खरिद गर्न खोजेको अभाव रै’छ, अब देशमै उत्पादन हुन्छ ।’ तत्कालको अभाव टार्न यूएसआईडीले मन्त्रालयलाई एक हजार न पीपीई सहयोग गरेको छ ।(आजको कान्तिपुरबाट)