दुई नेपालीमा देखियो कोरोना भाइरस

२७ फाल्गुन २०७६, मंगलवार ०९:५६

काठमाडौं, संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीमा कोरोना (कोभिड–१९० पुष्टि भएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । ‘हामी युएई सरकारसँग सम्पर्कमा छौँ । दुई नेपालीलाई कोरोना पुष्टि भएको खबर पाएका छौँ । थप सूचना लिन प्रयत्नशील छौँ,’ ढकालले नयाँ पत्रिकासँग टेलिफोनमा भने । युएईले नेपाललाई औपचारिक जानकारी भने दिएको छैन ।

सोमबार कोरोना पुष्टि हुने अन्यमा युएईकै चार, इटालीका तीन, बंगलादेशका दुई तथा रसिया, भारत र सिरियाका एक–एक नागरिक छन् । आइतबार अस्ट्रेलियामा पनि एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भएको जानकारी आएको अस्ट्रेलियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख दुर्पदा सापकोटाले बताइन् । संक्रमित व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगरिदिन आग्रह गरेको पनि उनले बताइन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाआतंकसँगै उपकरण लुकाउने तथा दुरुपयोग गर्ने क्रम बढ्दा पिपिई आपूर्तिमा विश्वव्यापी समस्या देखिएको जनाएको छ । अत्यावश्यक उपकरणको बढ्दो अवरोधले नयाँ कोरोना भाइरस र अन्य संक्रामक रोगहरूले ज्यान जोखिममा पु(याउन सक्नेसमेत डब्ल्युएचओले जनाएको छ । डब्ल्युएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयसस भन्छन्, ‘सुरक्षित आपूर्तिविना विश्वभरिका स्वास्थ्यकर्मीहरूका लागि जोखिम वास्तविक छ ।’ (आजको नयाँ पत्रिकाबाट)