टुटल पठाओमा फेरि लफडा, ट्याक्सी व्यवसायीद्वारा विभाग घेराउ

२८ फाल्गुन २०७६, बुधबार ०९:५२

काठमाडौं, लामो समयदेखि राइड सेयरिङका रूपमा रहेका टुटल तथा पठाओ सञ्चालनका विषयमा रहँदै आएको विवाद फेरि बल्झिएको छ ।

ट्याक्सी व्यवसायीले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गर्दै टुटल र पठाओ बन्द गर्न माग गरेपछि यो विवाद फेरि बल्झिएको हो । ट्याक्सी व्यवसायीले पटक–पटक टुटल, पठाओ बन्द गर्न माग राखेर आन्दोलन गर्दै आएका छन् ।

निजी प्रयोजनका लागि निकालिएका सवारी साधनमा यात्रु बोक्न नपाइने भन्दै ट्याक्सी व्यवसायीहरू यातायात विभाग पुगेका थिए । टुटलले मोटरसाइकल तथा पठाओले मोटरसाइकल र उपत्यकामा चल्ने सामान्य ट्याक्सीलाई पनि आफूसँग आबद्ध गराएर मोबाइल एपमार्फत सञ्चालन गर्दै आएको छ ।

सरकारले टुटल र पठाओलाई नियमन गरेर सञ्चालन गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री र विभागीय मन्त्री टुटल र पठाओलाई नियमन गरेर सञ्चालन गर्ने पक्षमा छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसको जिम्मा मंसिरमै विभागलाई दिए पनि विभागले नियम कानुन बनाउने तथा नियमन गर्ने विषयमा गम्भीरता देखाएको पाइएको छैन ।

विभागका प्रमुख गोगनबहादुर हमालले संघीय सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयकमा राइड सेयरिङसम्बन्धी व्यवस्था गरिएको बताउँछन् । ‘विधेयक संसद्मा पेस हुन्छ, त्यहाँबाट पारित भएपछि नियमावली, विनियमावली बनाएर यसलाई नियमन गरेर सञ्चालन गरिन्छ,’ उनले भने ।

यसअघि दुईपटक बन्द
राइड सेयरिङ टुटल तथा पठाओमाथि यसअघि नै दुईपटक बन्द गर्ने असफल प्रयास भएको छ । तत्कालीन यातायात मन्त्री रघुवीर महासेठको पालामा टुटल र पठाओ बन्द गर्ने प्रयास भएको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गर्न चाहेनन् । चौतर्फी विरोधपछि प्रधानमन्त्रीले नियमन गरेर व्यवस्थित रूपमा सञ्चालन गर्ने पक्ष लिएपछि टुटल र पठाओ पुनः निर्बाध रूपमा सञ्चालनमा आएका थिए ।

पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले मंसिर पहिलो साता सूचना जारी गर्दै एउटा प्रयोजनका लागि दर्ता गरेर अर्कै प्रयोजनमा प्रयोग गर्ने सवारीसाधनमाथि कारबाही गर्ने चेतावनी दिएर पठाओ र टुटल बन्द गर्ने रणनीति लियो ।

ट्याक्सी चालकहरूको चर्को दबाबपछि एक जना पठाओ चालक कारबाहीमा समेत परे । तर, टुटल र पठाओ बन्द गर्ने निर्णय लामो समय टिक्न पाएन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभागको निर्णयलाई अस्वीकार गरिदिए । त्यसपछि निर्बाध रूपमा पठाओ र टुटलले सेवा सञ्चालन गर्दै आएका छन् ।

त्यस समयमा मन्त्रालय र मन्त्रालय मातहतको विभागबिच टुटल, पठाओ जस्ता राइड सेयरिङ रोक्ने विषयमा विवाद नै देखिएको थियो । विभाग बन्द गर्ने पक्षमा उभिएको थियो भने मन्त्रालयले यथावत् रूपमा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

विभागले राइड सेयरिङ रोक्ने सूचना जारी गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले टुटल, पठाओ लगायतका राइड सेयरिङ नरोक्न निर्देशन दिएका थिए । (आजको राजधानी दैनिकबाट)