‘कोरोना प्रभावितलाई सरकारले संरक्षण गर्छ’

४ चैत्र २०७६, मंगलवार १०:५९

काठमाडौं, अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरस (कोभिड–१९) ले मुलुकको प्रभाव पार्ने क्षेत्रलाई सरकारले संरक्षण गर्ने बताएका छन्।

अर्थमन्त्रीले विगतमा सशस्त्र द्वन्द्वदेखि भूकम्प र नाकाबन्दीजस्ता समस्यासँग सरकार जुधेको अनुभव भएको बताउँदै कोरोना समस्यासँग पनि नीति बनाएरै जुध्ने जानकारी दिए ।

‘नेपालको अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव’ बारेको साक्षात्कारमा अर्थमन्त्री खतिवडाले भने, ‘सरकारले विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा रुग्ण उद्योगलाई समस्या पर्दा आवश्यक नीति बनाएर सम्बोधन गर्दै आइरहेको छ। यसअघि पर्यटन क्षेत्र समस्यामा पर्दा तथा रुग्ण उद्योगलाई नीति बनाएरै उद्धार गरेका थियौं। अहिले पनि कोरोनाबाट वास्तविक समस्यामा पर्ने उद्योगी, व्यवसायीलाई संरक्षण गर्न सरकार तयार छ।’

सरकारले कर फिर्तालगायतका कार्यक्रम ल्याएर भए पनि व्यवसायीको समस्या सम्बोधन गर्र्ने जानकारी अर्थमन्त्रीले दिए। ‘निर्यातमा सहुलियत दिने हाम्रो नीति नै छ। जहाँ–जहाँ व्यवसायीलाई समस्या भएको छ, त्यही ठाउँका व्यवसायीलाई सहयोग गर्ने नीति अवलम्बन गर्नेछौं’, मन्त्री खतिवडाले भने, ‘अहिले ब्याज अनुदानसमेत दिनेछौं। बैंकको ब्याज अनुदान दिने क्षेत्र पनि तोकेका छौं।’

खतिवडाले राष्ट्रबैंकलाई पनि लचकता अपनाएर अघि बढ्न आवश्यक निर्देशन दिइसकेको बताए। ‘हामी अहिलेको अवस्थामा ‘पेनिक’ नबनौं। अहिले पर्ख र हेरको रणनीतिमा छौं,’ उनले भने, ‘असर परेको क्षेत्रमा मूल्यांकन गरेर निजी क्षेत्रलाई गर्नुपर्ने सहयोग गर्न तयार छौं।’

खतिवडाले अहिले नाफा खाएर नभई आपूर्ति सहज रुपमा गर्ने बेला भएको बताए। उनले मुलुकमा कोरोनाबाट हुने जोखिमको वास्तविक मूल्यांकन गर्न आग्रह गरे। ‘हामी जोखिमलाई अधिमूल्यन वा अवमूल्यन दुवै गर्ने अवस्थामा छैनौं’, अर्थमन्त्री खतिवडाले भने, ‘जोखिमलाई अधिमूल्यन गरियो भने भयावह अवस्था आउँछ, विद्यमान संस्थागत प्रबन्ध खलबलिने, आपूर्ति र आवागमन प्रणालीका साथै सम्पूर्ण जनजीवनलाई असर पार्ने हुन्छ।’

खतिवडाले अतिकति अवमूल्यन गरे पनि छिमेकी मुलुकमा जोखिम देखिएकाले त्यो गर्न सक्ने अवस्थामा पनि नरहेको जानकारी दिए। ‘हामी सोझै रुपमा प्रभावित नभए पनि हाम्रो अन्तरआबद्धता र छिमेकी मुलुकको कारणले यहाँ प्रभाव पार्ने देखिएको छ’, उनले भने।

उनका अनुसार अन्तर्राष्ट्रिय स्तर र छिमेकी मुलुकमा फैलिएको कोरोना भाइरसका कारणले व्यापार, लगानी, श्रम, पर्यटन र पुँजीप्रवाहमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारिरहेको छ। ‘फागुन मसान्तसम्मको अवधिलाई हेर्दा व्यापारको स्थिति अघिल्ला ६ सात महिनामा जे थियो, आठौं महिनामा पनि त्यही छ’, उनले भने।

खतिवडाले आयात व्यापार औसतमा आठ, पाँच र तीन प्रतिशतले घट्दै आएकोमा फागुनमा दुई वा तीन प्रतिशतले घटेको जानकारी दिए। यस्तै निर्यात व्यापार करिब २३ प्रतिशतले बढेको छ। पछिल्लो समय यो ३ प्रतिशतले मात्र घटेको छ। (आजको नागरिक दैनिकबाट)