कपिलवस्तुमा अज्ञात समूहद्वारा ६ वटा गाडीमा आगजनी

२२ फाल्गुन २०७६, बिहीबार ११:३९

अर्घाखाँची, बुधबार राति कपिलवस्तुको पश्चिमी क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा ६ वटा गाडीमाथि अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाको लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा आगजनी भएको छ।

राति करिब पौने १ बजे घटना भएको प्रहरीको अनुमान छ। ना१क ९०६९, बा२क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६ च ५२५० नम्वरको बोलोरो जिप र से १ क ७०, बा २ क १४७३ नम्बरको स्काभेटर जलाइएको प्रहरीले जनाएको छ। कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २ लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीको भनाइ छ। अहिले इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचाबाट घटनास्थलमा प्रहरी पुगिसकेको बताइएको छ।