सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव

१० फाल्गुन २०७६, शनिबार ११:०८

फाइल तस्वीर

काठमाडौं , चीनमा फैलिएको कोराना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोराना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो ।

नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्दै आएका छन् । सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो । अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिन थालेको छ ।

औषधि उत्पादन हुने कच्चा पदार्थ, लसुन, स्याउ, सुनलगायत अन्य वस्तुमा समेत यसको प्रभाव परेको हो ।

कोरोना भाइरसको प्रभावले नेपाली बजारमा गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको लसुनको मूल्य बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो दुई महिनामा मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको छ ।(आजको राजधानी दैनिकबाट)