सचेत हुनुहोस् स्तनमा गाँठा नभईकन पनि स्तन क्यान्सर हुनसक्छ कसरी थाहा पाउने , जान्नुहोस सात कुरा

२१ माघ २०७६, मंगलवार ११:११

बीबीसी , स्तन क्यान्सरको पहिलो र मुख्य लक्षण भनेकै स्तनमा गाँठा गुठी हुनु हो । तर लण्डनका बैज्ञानिकहरुले स्तनमा गाँठा गुठी नदेखिएका महिलाहरुलाई पनि स्तनक्यान्सर हुन सक्ने दावी गरेका छन् । भर्खरै गरिएको अनुसन्धानलाई हवाला दिदै उनीहरुले महिलाहरुलाई गाँठा बाहेकका अन्य लक्षणहरु पनि हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
युनिभर्सिटी कलेज लण्डनका बैज्ञानिकहरु भर्खरै स्तन क्यान्सर पत्ता लागेका २ हजार ३ सय महिलाहरुको लक्षण केलाएका थिए । सो क्रममा हरेक ६ मध्ये १ जनालाई स्तनमा गाँठा गुँठी नै नदेखिईकन क्यान्सर भएको पाइएको थियो । सोही कारण उनीहरुले स्तन क्यान्सरको लक्षण स्तनमा गाँठा बाहेक अन्य पनि हुनसक्ने भन्दै सचेत गराएका हुन् ।

महिलाहरुले स्तनमा गाँठा आएको मात्रै क्यान्सर हुनसक्ने भन्दै अन्य लक्षणको वेवास्ता गरेको पाइयो । जसले गर्दा क्यान्सर रोगको पहिचान धेरै ढिला हुन गयो । नेशनल क्यान्सर रिसर्च इन्स्टिीच्युटका निर्देशक डा क्यारेन केनडीले भने, क्यान्सर रोग जति ढिलो पत्ता लाग्यो उत्तिकै जोखिम हुन्छ
डा केनडीले काखी निर सुन्निने, स्तनको निप्पलमा परिवर्तन हुने, स्तनबाट रगत आउने, स्तनमा विमिरा आउने जस्ता लक्षण क्यान्सरको हुनसक्ने भन्दै यस्तो लक्षण आएमा परीक्षण गरिहाल्न सुझाव दिएका छन् ।
उता अनुसन्धानकर्ताहरुले स्तनका गाँठा गुठि बाहेक अन्य लक्षणले पनि क्यान्सर रोग लागेको नलागेको थाह हुनसक्ने भन्दै महिलाहरुलाई आफै जाँच गर्ने केही सुझाव दिएका छन् ।

उनीहरुले दिएको सुझावहरु यसप्रकार छन् स्

१. स्तन वरिपरि गाँठा गुठी वा बाक्लो मांसपेशी देखिएमा क्यान्सरको लक्षण हुनसक्छ ।
२. एउटा वा दुबै स्तनको बनोट र आकार परिवर्तन भएमा पनि क्यान्सर हुनसक्छ ।
३. स्तनको निप्पलबाट रगत बगेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
४. काखी वा त्यसवरपर सुन्निएमा वा गाँठा देखा परेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
५. स्तनमा डिम्पल जस्तो खाल्टो देखा परेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
६.स्तनको मुन्टो (निप्पल) वरिपरि दाग वा धब्बा देखिएमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
७. स्तनको मुन्टो (निप्पल)को बनोट र आकार परिवर्तन भएमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।