मधेसवादी–सरकार सम्बन्ध उतार–चढावपूर्ण

४ फाल्गुन २०७६, आईतवार ०९:५४

काठमाडौं, केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएको दुई वर्षमा मधेस केन्द्रित राजनीतिक दलहरूसँगको सम्बन्ध सुमसुर बन्न सकेन।

मधेस केन्द्रित दलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र सरकारसँग नजिकने प्रयास गरे पनि सरकारको व्यवहार र सर्तका कारण उनीहरूबीचको सम्बन्ध उतार–चढावपूर्ण बन्न पुगेको छवर्तमान सरकारसँग तराई–मधेस केन्द्रित दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल कहिले सरकारसँग नजिक र कहिले सरकासँग टाढा भएका छन्। पुस ९ गतेबाट समाजवादी सरकारबाट बाहिरिएको छ।

सरकारबाट बाहिरिएलगत्तै समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समाजवादी टाढिएपछि राजपा सरकारसँग नजिकिएको छ। माघमा भएको राष्ट्रियसभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले राजपासँग सहकार्य गरेको थियो। यसपछि नेकपा र समाजवादीबीच सम्बन्ध बढ्दै गएको छ।

त्यसो त, संसद्मा केपी ओली निर्वाचित हुँदा समाजवादी र राजपा दुबै दलले ओलीलाई समर्थन गरेका थिए। तर त्यसको केही महिना पछि आफ्नो माग पूरा नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो।

राजपाले समर्थन फिर्ता लिए पनि सरकारको साथमा समाजवादी रह्यो। तर अहिले परिस्थति फेरिएको छ। समाजवादी सरकारबाट टाढिएको छ भने राजपासँग नजिकिएको छ।

समाजवादी सरकारमा करिब १९ महिना सहभागी रह्यो। सरकारबाट बाहिरिनुअघि प्रधानमन्त्री र समाजवादीबीच सम्बन्ध बिग्रियो। यो स्थिति करिब ६ महिनासम्म रह्यो।

यादवमाथि सरकारमा रहेर पनि सरकारको आलोचना गर्ने गरेको, स्वास्थ्यजस्तो सार्वजनिक सरोकारको मन्त्रालय सम्हाल्दासमेत जनस्वास्थ्य सुधारका लागि कुनै काम नगरेको, मन्त्रिपरिषद्को बैठकमा निकै कम उपस्थित हुने गरेको आरोप लाग्यो।

कात्तिक २८ देखि ३० गतेसम्म बसेको समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीका राष्ट्रिय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भट्टराईले सरकारको मात्र आलोचना गरेनन, प्रधानमन्त्रीलाई गफास्टक संज्ञा पनि दिएका थिए।

सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई उनले कहिले नउठ्ने गरी पतनको बाटोमा गएको आरोपसमेत लगाएका थिए। यद्यपि त्यसबेला समाजवादी पार्टीका केन्द्रीय समितिको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय त गरेन तर त्यसपछि प्रधानमन्त्री र समाजवादी पार्टीबीचको सम्बन्ध झन् बिग्रियो। (आजको नागरिक दैनिकबाट)