फेरी बढ्यो ग्याँसको भाउ

२१ माघ २०७६, मंगलवार ११:०३

नेपाल आयल निगमले एलपी ग्याँसको मूल्य वृद्धि गरेको छ । ग्याँसको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ रुपैयाँ पुगेको छ ।सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय बजारमा एलपी ग्याँसको मूल्य बढेको भन्दै निगमले प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।

वीरेन्द्रकुमार गोइतका अनुसार पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएको छ।निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ ।

वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ । मूल्य समायोजनपश्चात् भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ ।