‘प्यारासाइट’ ओस्कारको उत्कृष्ट चलचित्र

२८ माघ २०७६, मंगलवार १८:३७

न्युयोर्क , यस वर्षको ओस्कारमा दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । पहिलोपटक गैरअंग्रेजी चलचित्रले ओस्कारमा उत्कृष्ट चलचित्रको पुरस्कार जितेको हो । बोङ जुन होले निर्देशन गरेको यो चलचित्र दुई भिन्न वर्गका दुई परिवारको कथामा आधारित छ ।

निर्माता क्वाक सिन आइले पुरस्कार लिएपछि भने, ‘म शब्दविहीन भएको छु, हामीले यस्तो हुन्छ भनेर कल्पनासम्म पनि गरेका थिएनौँ, यस क्षणलाई म इतिहासकै विशेष अवसरको रूपमा अनुभूत गरेको छु ।’ प्यारासाइटले उत्कृष्ट चलचित्रसहित अन्य चार विधामा अवार्ड प्राप्त गरेको छ । यस चलचित्रका निर्देशक बोङ जुन हो उत्कृष्ट निर्देशक बन्न सफल भएका छन् भने ओरिजनल स्क्रिनप्ले अवार्ड पनि जितेको छ ।

यसैगरी ‘जुडी’ चलचित्रबाट रेनी जेलवेगरले उत्कृष्ट अभिनेत्री र ‘जोकर’ बाट जोकिन फोनिक्सले उत्कृष्ट अभिनेताको पुरस्कार हात पारेका छन् । हलिउड अभिनेता ब्राड पिटले ‘वान्स अपन अ टाइम इन हलिउड’ बाट र लाउरा डर्नले ‘म्यारिज स्टोरी’ बाट उत्कृष्ट सहअभिनेता तथा सहअभिनेत्रीको पुरस्कार जितेका छन् । यस वर्ष ‘सर साम मेन्डेज १९१७’ ले ३ विधामा ओस्कार जितेको छ । (सौर्य अनलाइनबाट)